काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासित नेता ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन तीन करोड पैसा मागेको आरोप लगाएका मोहनजंग थापामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले आफूलाई मन्त्री बनाउन रविका कोर टिमले पैसा मागेको अडियो सार्वजनिक भएपछि उनी पार्टीबाट निष्कासित भएका थिए। पछिल्लो समय श्रेष्ठले मन्त्री बनाउन थापाले तीन करोड मागेको कुरा सञ्चार माध्यममार्फत खुलासा गरेका छन्।
सोही विषयलाई लिएर रास्वपाले बुधवार विज्ञप्ति जारी गर्दै थापामाथि कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेका पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो। यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ,’ जारी विज्ञप्तिको ६ नं.बुँदामा उल्लेख छ।
साथै पार्टीका कुनै नेताले पैसाले लिएको प्रमाणसहित आएमा ७२ घण्टाभित्र कारबाही गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ। तर श्रेष्ठले लगाएको अरोपको खण्डन गर्दै थापले पैसा मागेको विषय झुठो र कपोल्कल्पित भएको बताएका थिए। आरोप प्रमाणित गर्न थापाले श्रेष्ठलाई चुनौती दिएका थिए। पुष्टि हुने एउटा पनि प्रमाण देखाए पार्टीले गर्ने जुन सुकै कारवाही भोग्न आफू तयार भएको सामाजिक सञ्चालमार्फत जानकारी उनले जानकारी दिएका थिए।


