कैलाली। कैलालीको गोदावरी नगरपालिका ४ मा पहिरोले भत्किएको सडकको ट्र्याक खोल्ने काम सकिएको छ। साउन २२ गते राति परेको बर्षाका कारण आएको पहिरोले भत्किएको करिब ४ सय मिटर सडकको ट्र्याक खोल्ने काम सकिएको हो।
सडक डिभिजन कार्यालय कञ्चनपुरले ४ दिन लगाएर सो क्षेत्रमा सडकको ट्र्याक खोल्ने काम सकिएको भएपनि सवारी साधन भने चल्न सक्ने अवस्था नरहेको जनाएको छ। बुढीलोलास्थित बाख्रा फार्मभन्दा करिब ३ सय मिटर दक्षिण अत्तरिया तर्फ भावर भन्ने ठाउँको पहिरो सडक बगाएको थियो।
एकतर्फि सवारी साधन संचालन गर्न मिल्ने गरी ट्र्याक खुलेको भएपनि हिलाम्मे भएका कारण सवारी साधन चलाउन सक्ने अवस्था नरहेको र रोक लगाइएको सूचना अधिकारी इन्जिनियर यिपूस चटौतले बताए। उनले ट्र्याक खोलेको सडक हिलाम्मे भएकाले ढुंगा भर्ने, ग्राभेल भर्ने काम भइरहेको बताए।‘ट्र्याक खोलेको सडक माथि पानीको मुल फुटेकाले सडक सुख्खा हुन नपाएको र माटो गिलो भएर बसेकोले सुक्न एकदुई दिन लाग्ने बताए।
अहिले ट्र्याक खोलेको सडकमा मानिस हिड्न सक्ने अवस्था पनि नभएको उनले बताए। सडकमा ग्राभेल हालेपनि माटोमा पानीको मात्रा धेरै भएकाले माटोमै विलाउने गरेको बताए। एकदुई दिन बर्षा नभएपछि माटो सुख्खा हुन्छहोला’ उनले भने ‘माटो सुख्खा भएमा एकदुई दिनमा गाडी चलाउन मिल्ने देखीएको छ। नत्र पानी परेपछि झन् समस्या हुने उनको भनाई छ। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा अवरूद्ध हुँदा अहिले प्रदेशका तराई र पहाड जिल्ला बीचको सम्पर्क टुटेको छ।


