धनगढी। शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य केन्द्र र चौकीमा कार्यरत करारका कर्मचारीको समयावधि थप नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायधिश तिलप्रसाद श्रेष्ठको इजलासमा शुक्रबार भएको बहसपछि नगरपालिकाको नगर सभा तथा कार्यपालिकाबाट भएको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।भनिएको छ –‘शुक्लाफाँटा नगरपालिकाको जेठ ३१ र सोही नगरपालिकाको नगरसभाबाट असार ७ मा भएको निर्णय तथा असार १६ गतेमा भएको पत्रचार समेत कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरिदिएको छु।’
स्वास्थ्यकर्मी हरिनाथ समेतले नगरपालिका, नगर प्रमुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतलाई विपक्षी बनाई सर्वोच्चमा ३ गते उत्प्रेषण मुद्दा दायर गरेका थिए । सो मुद्दामा आज दायरकर्ता तर्फबाट अधिवक्ता खम्मबहादुर खाती र जगतप्रकाश जोशीले बहस गरेका थिए।
सो बहसपश्चात सर्वोच्चले कारण देखाउँ आदेश जारी गरेको छ । भनिएको छ –‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ?आदेश जारी हुनु नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यमाद बाहेक १५ दिनभित्र विपक्षीको हकमा महान्यायधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेश गर्न हुनु आदेश छ ।’


