काठमाडौँ। आगामी २३ असार शनिबारसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक हुने भएको छ। अहिले नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ। गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए।
लेटर ग्रेडिङ निर्देशिका–२०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन। बोर्डको बैठकले मात्र त्यस विषयमा निर्णय गर्ने व्यवस्था छ। आइतबारसम्म बैठक डाकिएको छैन। गत वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो। यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम व्याच हुन् । यता गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा सुदूरपश्चिमबाट ५५ हजार तीन सय ७६ विद्यार्थी सहभागी थिए। नियमित साधारण धारतर्फ ५० हजार पाँच सय ७४, ग्रेडवृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ दुई हजार नौ सय ४४ विद्यार्थी परिक्षामा सहभागी भएका थिए।


