धनगढी। धनगढीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला सुरु भएको छ। धनगढी उप–महानगरपालिका १६ मा रहेको बेहडाबाबा धाममा गंगादशहरा मेला सुरु भएसँगै पुजाआजा गर्ने भक्तजनहरुको भिडभाड लागेको छ।
धार्मिक तथा पर्यटकहरुको आस्थाको केन्द्र बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो। स्थानीय स्तरबाटै आयोजना गरिएको मेलामा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो लागेको छ। भारतबाट समेत भक्तजनहरु पुजाआजा गर्न आएका छन्। बेहडाबाबा मन्दिरमा पत्नीलाभ, पुत्रलाभ, धनलाभ लगायत मनोकांक्षा बोकेर तीर्थालुहरू आउने गरेको स्थानीय बताउँछन्। स्थानीयका अनुसार मन्दिर भएको स्थानमा पहिला घना जंगल थियो।
परापूर्वकालमा शिवलिंग आफैं उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको हो। बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुदै आएको छ। गंगादशहरा मेलामा भारतीय पर्यटकहरुको घुईचो लाग्ने गरेको छ। मेला आयोजनाले बेहडाबाबालाई आन्तरिक र बाह्य पर्यटकहरुको मुल गन्तव्य बनाउन टेवा पुग्ने विश्वास गरिएको छ। यस अवसरमा धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक विदा दिएको छ।



