धनगढी। सुदुरपश्चिम प्रदेश सरकार बिस्तार र भागबण्डामा कुरा नमिलेपछि मुख्यमन्त्री कमल बहादुर शाह पुनः काठमाडौँ गएका छन् । एक साता अघि मात्रै शिर्ष नेतासँग भेट गरी सहमती हुने भन्दै सुदुरपश्चिम फर्किएका मुख्यमन्त्री शाह सहमती र भागबण्डामा सकस भएपछि पुनः काठमाडौँ गएका हुन् ।
उनी एक साताअघि मन्त्रीमण्डल विस्तारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताहरूसँग काठमाडौँमा भेटघाट गरेका थिए। मुख्यमन्त्री शाहले ३ महिना समयसम्म मन्त्री परिषद् विस्तार गर्न सकेका छैनन् । शीर्ष नेताहरूसँग सहयोगको याचना गर्न उनी पुनः प्रदेश सरकारका २ मन्त्रीसहित सोमबार साँझ काठमाडौँ पुगेका हुन् । मुख्यमन्त्रीका स्वकीय सचिव टेकराज कठायतले मन्त्री परिषद् विस्तार र प्रदेश सरकारलाई विकास आयोजनाको माग गर्न काठमाडौँ गएको जानकारी दिए।
आजै उच्च स्तरीय राजनीतिक कार्यदलमा कुरा राख्ने बताएको उनले भने। यसअघि मुख्यमन्त्री शाहले प्रधानमन्त्री दाहालसँग भेटघाट गर्दै मन्त्री परिषद् विस्तारमा ढिला भएकाले छिटो बिस्तार गर्नुपर्ने आग्रह गरिए उक्त भेटले सार्थकता नपाएको बताए। उनी पुनः शीर्ष नेताहरूलाई हारगुहार गर्न काठमाडौँ पुगेको बताए। माघ २६ गते नियुक्त भएका मुख्यमन्त्री शाहको ३ महिना बढी भएको छ। यहाँ ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्य मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था देखिन्छ ।
सुदुरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २, मन्त्रालयमा दाबी गरेको छ। अहिले सरकारमा रहेको कांग्रेसले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएको छ । थप १ मन्त्रालय पनि पाउनुपर्ने कांग्रेसको दाबी छ। आर्थिक मामिला मन्त्रालय पाएको नेकपा(एकीकृत समाजवादी) पार्टीले पनि थप १ मन्त्रालय पाउनुपर्ने अडानमा छ। तर माओवादीले २ मन्त्रालय पाउने भएको छ। २ मन्त्रालयको लागि आधा दर्जन आकाङ्क्षी छन्। माओवादीबाट संसदीय दलका नेता खगराज भट्ट, ओम विक्रम भाट सरल, झपट साउद, अक्कल रावल, रमेश धामी, शिव ओलीलगायतका मन्त्री बन्ने दौडमा छन्।
मुख्यमन्त्री शाहले कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए। त्यसबाहेक अन्य ४ मन्त्रालय मन्त्री बिहीन बनेका छन्। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन्। सोमबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्। कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले एक/दुई दिनभित्रै सरकारले छिट्टै पूर्णता पाउने कुरा दोहो¥याएका थिए ।


