धनगढी। सुदुरपश्चिम प्रदेश सरकार बिस्तारमा मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा सकस भएको छ। काँग्रेस संसदिय दलका नेता समेत रहेका कमल बहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएको ३ महिना पुगीसक्दा सरकार बिस्तार गर्न सकेका छैनन्।
उनलाई सरकार बिस्तार संगै मन्त्रालय भागबण्डामा सकस परेको हो। प्रदेश सरकारमा मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिला मन्त्रीमा नरेश शाहीले नेतृत्व सम्हालिरहेका छन्। अन्य ४ मन्त्रालयको नेतृत्व र भागबण्डा मिलाउन मुख्यमन्त्री शाहलाइ अप्ठेरो भएको छ।सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वका लागि दुई दलको दाबी रहेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नियूक्त भएको तीन महिनापछि विस्तार हुन लागेको सरकारमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी पनि सहभागि हुन लागेका छन् ।
नेकपा माओवादी केन्द्रले उद्योग, पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व पाउने सहमति भइसकेको छ भने उन्मुक्तिले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पाउने छ।प्रदेशको सामाजिक विकास मन्त्रालयमा नेकपा माओवादी केन्द्र र उन्मुक्ति दुबै दलको अडान कायम रहेको छ। नेकपा माओवादी केन्द्रले तीन र उन्मुक्तिले दुई मन्त्रालयमा दाबी गरेपछि सामाजिक विकास मन्त्रालयको नेतृत्व कसलाई दिने भन्ने अहिलेसम्म सहमति जुट्न सकेको छैन्।
उन्मुक्तिका नेता रामेश्वर चौधरीले सामाजिक विकास मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नेतृत्व उन्मुक्ति पार्टीले पाउनुपर्ने बताए । त्यही अनुसार हामीले मन्त्रीको नाम पनि टुङ्गो लगाइसकेको उनको दाबी छ ।अहिले सम्म सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहीन रहेका छन् ।
मुख्यमन्त्री शाहले मन्त्री नियुक्त गर्न सकेका छैनन्। मंसिर ४ को चुनाव पछि २७ पुसमा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेका थिए। उनले आफूसँगै अन्य दुई मन्त्री पनि नियुक्त गरेका थिए। त्यसबेला पनि सरकारले पूर्णता पाउन सकेको थिएन। विश्वासको मत नपाएपछि रावल नेतृत्वको सरकार २६ माघमा ढलेको थियो। चुनाव भएको चार महिना बितिसक्दा पनि सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११,एमालेका १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका १र१जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्।


