धनगढी। सुदूरपश्चिम प्रदेश सरकार विस्तारबारे संघिय सरकारसंग छलफल गर्न काठमाण्डौ पुगेका मुख्यमन्त्री कमल बहादुर शाह आज धनगढी पुग्न लागेका छन्। सत्ता गठबन्धनको शीर्ष नेताहरू बिच सहमति गरेर भागबन्डा टुङ्गो लगाउन आग्रह गर्न काठमाडौँ पुगेका मुख्यमन्त्री शाह आज साँझ फर्किँदै छन्।
मन्त्रालय बाँडफाँटमा सहमति भएपनी मन्त्रीको नाम भने टुंगिएको छैन्। मंगलबार मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र माओवादी संसदीय दलका नेता खगराज भट्ट शीर्ष नेताहरूलाई भेट्न काठमाडौँ गएका थिए। भौतिक मन्त्री देउवा र माओवादीका भट्ट हिजै फर्किएका हुन्। उनीहरूसँग शीर्ष नेताहरूसँगको भेटमा सहभागी माओवादीका सांसद ओम विक्रम भाट सरल पनि हिजै फर्किए। आज साँझ सम्म मुख्यमन्त्री पनि फर्किने कार्यक्रम रहेको जनाइएको छ। मन्त्रीको नाम लिन काठमाडौँ पुगेका मुख्यमन्त्री शाह मन्त्रीको नाम लिएर फर्किने सम्भावना भने क्षीण रहेको जनाइएको छ।
हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई र अस्ति माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेटेर मुख्यमन्त्रीले सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भइरहेको भन्दै शीर्ष नेताहरू बिच सहमति गर्न आग्रह गरेका थिए । देउवा र प्रचण्ड दुवैले अब धेरै ढिला नहुने आश्वासन दिएपनि अहिलेसम्म मुख्यमन्त्रीलाई मन्त्रीहरूको नाम भने दिएका छैनन्। हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर भागबन्डाको बिषय टुङ्गो लगाउने आश्वासन दिएकका थिए। तर, अहिले सम्मपनि मन्त्रीहरूको नाम मुख्यमन्त्रीले नपाइएको स्रोतले बताएको छ। आज मुख्यमन्त्री फर्किँने भएपनी नाम लिएर आउने सम्भावना कम रहेको बताइएको छ ।मुख्यमन्त्री शाह धनगढी पुगेसंगै प्रदेशको मन्त्रीपरिषद विस्तार गर्ने तयारीमा रहेको छ।
माघ २६ गते मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीले शपथ ग्रहण गरेका थिए। त्यस पछि सरकार विस्तार हुन सकेको छैन। अहिले सम्म सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहीन रहेका छन् ।


