धनगढी। टीकापुर घटनाका मुख्य अभियूक्तका रुपमा रहेका रेशमलाल चौधरीको मुद्दा सर्वोच्च अदालतमा जारी बहस आज टुंगिएन। आजको बहसमा विपक्षी वकिलहरुले गरेको बहस नटुंगिएपछि उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा परेको हो। रेशमको मुद्धामा आठ जना बढी वकिलले आज बहस गरेका थिए। भोली विदा भएका कारण सो मुद्दाको अर्को दिन अन्तिम सुनुवाईका लागि अघि बढाइने छ ।
टीकापुर घटनामै संलग्न रहेको आरोप रहेका लक्ष्मणको मुद्दाको साधकसहित ‘हेर्दाहेर्दै’ मा राखिएको छ । लक्ष्मण थारुले भने –‘आज बहस सकिएन । भोली विदा छ । अब अन्तिम फैसला नआएसम्म निरन्तर बहसमा जान्छ ।’२०७७ फागुन १२ गते कैलाली जिल्ला अदालत र उच्च अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै चौधरीका तर्फबाट पुनरावेदन गरिएको थियो। उक्त पुनरावेदनमा हालसम्म एकपटक मात्र सुनुवाइ भएको छ।
२०७९ माघ २२ गते न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोज शर्माको इजलासले प्रत्यर्थी झिकाउने आदेश गरेको थियो। चौधरीको निवेदन सर्वोच्चमा यसअघि १० पटक पेसी तोकिएको छ। तर, सुनुवाइका लागि नभ्याउने हुँदै आएको थियो।चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन्। उनको संरक्षकत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टी हाल सरकारमा छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।
प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। त्यसको करिब २ वर्षपछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।जिल्ला र उच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि उनी जेलमा छन्। तर, उनको दलले उक्त घटनालाई राजनीतिक आन्दोलनका रुपमा माफी दिनुपर्ने माग राख्दै आएको छ।यद्यपि, कानुनले उनको मुद्दा नै फिर्ता लिन नमिल्ने भएकाले विभिन्न सरकारले माफी दिने प्रयास गरे पनि सफल भएको छैन। अहिले पनि उक्त दलले यही अजेण्डा उठाउने गरेको छ।


