धनगढी। डेउडा प्रतिष्ठान केन्द्रीय समितिले आईतवार कलाकार कल्याणकारी कोषको स्थापना घोषणा गरेको छ। कलाकार कल्याणकारी कोषको घोषणासंगै संस्थाका कोषाध्यक्ष तथा लोक गायक प्रेम बिवश चन्द र लोक गायिका एवं समाजसेवी दुर्गा सापकोटाले जन्मदिनको अवसर पारेर रकम सहयोग गरेका छन्।
लोक गायक चन्दले जन्मदिनको अवसरमा ५ हजार १ सय १ रुपैयाँ र लोक गायिका एवं समाजसेवी सापकोटाले ५ हजार रुपैयाँ नगद संस्थाका अध्यक्ष दलबहादुर बोगटीलाई हस्तान्तरण गरेका हुन्। जन्मदिन मनाउन फजुल खर्च गर्नुभन्दा अक्षयकोष स्थापना गर्न रकम सहयोग उपयुुक्त लागेकोले हस्तान्तरण गरेको चन्दले बताए। त्यस्तै लोक गायिका एवं समाजसेवी सापकोटाले कलाकारको जीवन अफ्ट्यारोमा साहारा बन्ने कलाकार कल्याणकारी कोष भएकाले संस्थालाई सहयोग गरेको बताईन्।
संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा) ले कलाकारहरूलाई प्रेरणा, सम्मान र अफ्ठ्यारो अवस्थामा पर्दा कलाकारहरूलाई सहयोग गर्न कोषको स्थापना गरिएको जानकारी दिए ।अफ्ट्यारो परिस्थितिमा प्रतिष्ठानले अरु केही नसके पनि साहाराको रूपमा उभ्याउन र कलाकारहरूलाई प्रोत्साहित गर्न सहयोग पुग्ने उनको भनाई छ। लोक गायक चन्द र लोक गायिका एवं समाजसेवी सापकोटाको जन्म दिनमा कलाकार कल्याणकारी कोषमा सहयोग भएको भन्दै संस्थाले ठूलो आकार लिने बिश्वास ब्यक्त गरे। यसमा सबैको साथ र सहयोग अपरिहार्य रहने बरिष्ठ उपाध्यक्ष रावतको भनाई छ।


