काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि भएको प्रहरी बलप्रति माफी मागेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्दै माफी मागेका हुन्।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि काठमाडौंको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरे।केही महिनायता मिटरब्याज पीडित काठमाडौं आएर न्यायका लागि संघर्षरत छन् । आफ्नो माग पूरा गर्न सरकार तयार नभएको भन्दै वार्ता भंग गरेर प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो।
४ वैशाखमा सिंहदरबार घेराउ कार्यक्रममा जान लागेका मिटरब्याज पीडितलाई शान्तिवाटिकामा प्रहरीले लाठी र पानीको फोहोरा हानेको थियो। आफूले त्यसै दिन विहान बल प्रयोग नगर्न निर्देशन दिएको तर सुरक्षाकर्मीको फिल्ड कमाण्डरसम्म ठीक ढंगले समन्वय नहुँदा बल प्रयोग गरेर गल्ती भएको बताए।‘फिल्ड कमाण्डरको विश्लेषण गलत थियो । माइकिङ गरेर शान्तिपूर्ण रुपमा आउनु भन्दिनुपर्थ्यो। तर त्यहीँ कन्टेन गर्ने भन्ने निर्णय गरेछन्।
बाहिरबाट मिसिने ग्रुपलाई पनि रोक्ने काम भएछ, त्यहाँ गल्ती भयो’ उनले भने, ‘(शान्तिवाटिकामा) ढोका बन्द गरेपछि पीडितले आदोलन गर्नुभयो, त्यही कारण झडप भयो ।’ उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएपछि पनि बल प्रयोग भएको पाइएको भन्दै त्यहाँ पनि गल्ती भएको बताए । ‘जति कमजोरी भयो, गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने व्यक्तिको नाताले पीडितहरुमाथि पुलिसको लाठी लाग्यो, त्यसका निम्ति म क्षमा याचना गर्न चाहन्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।


