धनगढी। कैलालीको धनगढीमा रहेको एसपीए कलेजका एक जना प्राध्यापकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । कलेजका एक जना प्राध्यापकले छात्रालाई फेसबुक म्यासेन्जरबाट दुर्व्यवहार गरेपछि त्यसको विरोधमा विद्यार्थी उत्रिएका हुन्।
अहिले यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा छलफल भइरहेको प्रहरीले जनाएको छ। छलफल जारी रहेकाले अहिले नै सबै विषय सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक खगेन्द्र साउँदले बताए । अहिले बिद्याथीहरु जिल्ला प्रहरी कार्यालयमा आएको र छलफल भैरहेको उनले भने ।
सोमवार एसपीए क्याम्पसमा प्लसटु अन्तर्गत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टले फेसबुकबाट दुर्व्यवहार गर्ने गरेको घटना बाहिर आएको हो। भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनलाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। छात्राहरुलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुराहरु गर्ने गरेको भट्टमाथि आरोप छ।
सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले विरोध जनाएपछि भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। पीडित किशोरीले आफूलाई भट्टले दुर्व्यवहार गर्ने गरेको कुरा फाइनान्स विषयको कोर्डिनेटर म्यामलाई जानकारी गराएपनि उनले घटना ढाकछोप गर्न दवाव दिएको बताइन्।आफूलाई पटकपटक दुर्व्यवहार भएपछि घटना सार्वननिक गर्न बाध्य भएको उनको दाबी छ। यता, जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्ले भने उक्त विषयमा दुबै पक्षबिच छलफल गराइरहेको बताए।


