कञ्चनपुर। भारतीय सीमा सुरक्षा बल एसएसबीले चार नेपाली युवकमाथि निर्घात कुटपिट गरेको छ। भारतीय एसएसबीले कञ्चनपुरका चार नेपाली युवकमाथि कुटपिट भएको उनीहरूले बताएका छन् ।गएराति उत्तराखण्डस्थित वनबासा पुलवारि रहेका एसएसबीले आवतजावत बन्द भएपछि आएको भन्दै उनीहरूमाथी अमानवीय ढंगबाट कुटपिट गरेका हुन् ।
भीमदत्त नगरपालिका– १० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी तथा भीमदत्त– ५ का रतन ठगुराठी र गोविन्दप्रसाद जैसी (डब्लु)माथी कुटपिट गरेका हुन।एसएसबीबाट कुटिएका सुरेन्द्र कार्कीले आफन्त ल्याउन वनबासा जाने क्रममा एसएसबीका जवानले कुटपिट गरेको बताए। उनले भारतबाट नेपाल आफन्त आउन लागेकाले त्यहाँ जाँदै गर्दा कुटेको बताए। एसएसबी क्याम्पभन्दा ३०–४० मिटर वर नै रोकेर ब्यारेल बन्द भएपछि जान पाइँदैन भनेर रोकेको उनले बताए।
जाने नै भए उता साबलाई सोधेर आऊ भन्दा सोध्न जाँदा लाठी र पैनाले कुटपिट गरेको उनले बताए। कार्कीले आफूसँगै रहेका अन्य तीन नेपालीलाई पनि एसएसबीले कुटपिट गरेको, तर उनीहरूलाई आफूले नचिनेको बताए ।छिमेकी मुलुकका सीमा सुरक्षा बलबाट नेपाली नागरिकमाथि निर्घात कुटपिट हुनु मानव अधिकारको समेत उल्लंघन भएको स्थानीय युवाले भर्त्सना गरेका छन्।
स्थानीय युवा भूपेन्द्रसिंह क्षेत्रीले एसएसबीबाट विनाकारण नेपाली नागरिकमाथि मरणासन्न हुने गरी कुटपिट कार्य निन्दनीय भएको बताए । कुटपिट गर्नेमाथि कारबाही गर्नुपर्ने उनले माग गरे। यता कार्यालयका सुरक्षा निकायहरुले घटनालगत्तै एसएसबीसँग जानकारी लिएको र एसएसबीबाट अबउप्रान्त यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता आएको बताएका छन्। प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकाश डाँगीले यस विषयमा थप बुझ्ने र घटनाका सम्बन्धमा दुवै पक्ष र सरोकारवालासँग बुझेर अघि बढ्ने बताए ।


