धनगढी। कैलालीसहित सुदुरपश्चिमका बिभिन्न स्थानमा सोमबार देखी वर्षा भइरहेको छ। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले धनगढीसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा मेघ गर्जनसहित वर्षा भइरहेको हो। यता चैत महिनाको सामान्य वर्षामा पनि धनगढीमा डुवान भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पसलहरु डुवानमा परेका छन्। पानी निकास नहुँदा धनगढीको चटकपुरस्थित काठमाडौं होटल र मोबाईल पसल डुवान भएका छन् । स्थानीय शान्ती ज्ञवालीले पसलभित्र डुवान भएपछि समस्या भएको र विहान पसल खोल्दा पुरै जलमग्न भएको बताइन्। चैतको सामान्य वर्षामा पनि पानी पसल भित्र पसेको र पानी निकासका लागी नाली व्यवस्थापन नभएको उनले भनिन् ।
उनले अहिले त यस्तो डुवान भएको छ भने वर्षातमा थप डुवान हुने सम्भावना बढेकोले पानी निकासको व्यवस्थापन गर्न जरुरी रहेको बताइन् । यता धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर ऐरले भौतिक संरचना बिस्तारका कारण ढल तथा नाली निकासको ब्यवस्थापनमा ढिलाई भएको बताए। समयमै ब्यवस्थापनमा नभएकोले समस्या भएको बताए । उनले निर्माणाधिन चटकपुर -मोहना सडक खण्डको यथासिघ्र निर्माणका लागि वडा कार्यालयवाट पटक पटक समन्वय तथा सम्पर्क गर्दा निर्माण कम्पनिले अटेरी गरेको बताए।
सो सडक खण्ड अधुरो राखी सामान्य वर्षाका कारण स्थानिय वासिहरुको आवागमनमा समस्या र डुवान भएको बताए। सो कार्य यथासिघ्र निर्माण सम्पन्न गराउन र निर्माण कर्तालाई सम्पर्कमा आउन उनले अनुरोध गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा बिहानको ८ बजेसम्म ४८ दशमलब सात मिलिलिटर वर्षा भएको छ। धनगढीमा दिउसो पनि वर्षा जारी रहेको छ । देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । विहानको ८ बजेसम्म सबैभन्दा बढी वर्षा धनगढीमै भएको छ। महाशाखाका अनुसार डडेल्धुरामा १९ मिलिलिटर र डोटीमा नौ मिलिलिटर वर्षा भएको थियो ।


