काठमाडौं। कैलालीका एकसहित दुईजना अवैध रूपमा यार्सागुम्बा कारोबार गरेको आरोपमा पक्राउ परेका छन् । अवैध रूपमा यार्सागुम्बा कारोबार गरेको आरोपमा काठमाण्डौँ प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कैलालीको लम्कीचुहा नगरपालिका–३ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिकास्थित पाँगा बस्ने २५ वर्षीय प्रकाश टमटा र जुम्ला गोठीचौर गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१८, नरदेवी बस्ने ४० वर्षीय गोविन्द गिरी रहेका छन्। प्रकाशलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट र गोविन्दलाई काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले दुई किलो १३८ ग्राम यार्सागुम्बा समेत बरामद गरिएको छ। काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अवैध रुपमा यार्सागुम्बा बिक्री तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रहरीले जानकारी दिए।


