कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सभाका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मेघराज खड्काले सत्तारुढ गठबन्धनकै कारण सभामुख चयनमा ढिलाई भएको बताएका छन् । गठबन्धन भित्रको खटपटका कारण सभामुख चयन हुन नसकेको उनको भनाई छ। सभामुख चयनमा नेपाली कांग्रेसले संवैधानिक संकट निम्त्याउने काम नगरेको बताउँदै गठबन्धनकै लापरबाहीले सभामुख चयन नभएको उनले दाबी गरेका छन्।
‘सत्तारुढ गठबन्धनमा मेल देखिएन, हिजो उहाँहरुका दुई सांसद उपस्थित भएनन्, एक मत बदर भयो,’ उनले भने, ‘गठबन्धनका साथीहरुबीच नै समस्या देखिँदा सभामुखले बहुत पाएनन्, आफ्ना सांसद्लाई ह्विप लगाउनसक्नु प¥थ्यो, आफूले कमजोरी गर्ने अनि अर्काको टाउकोमा दोष थोपरेर हुन्छ’ नेपाली कांग्रेस सभामुख चयन प्रक्रिया अड्काउने पक्षमा नरहेको समेत उनले स्पष्ट पारे। ‘हिजो उहाँहरुले नै १ बजे बोलाएको बैठक ५ बजे पु¥याउनुभयो, हामीले सहमति नै जनायौं, घण्टी लागेपछि पनि गठबन्धनका साथीहरु प्रदेश सभामा पसिरहँदा पनि हामीले विरोध गरेनौं,’ खड्काले भने, ‘प्रतिपक्ष दलका हामी त सबै प्रदेश सभामा उपस्थित नै थियौ नी, कांग्रेस अड्काउने पक्षमा छैन ।’
सभाध्यक्ष शिवराज भट्ट गायब नभएको बताउँदै उनले उनी आफूहरुको सम्पर्क रहेको बताए। ‘दिनभर प्रदेश सभामै हुनुहुन्थ्यो, सत्तारुढ गठबन्धनमा समस्या नभएको भए पहिलो चरणमै सभामुख चयन भइसक्थ्यो,’ उनले भने, ‘पहिलो चरणमा सभामुख चयन नहुँदा दोस्रो चरणका लागि के गर्ने भनेर नियमावली स्पष्ट व्यवस्था नभएकाले उहाँ कानूनी परामर्शमा हुनुहुन्थ्यो ।’ सत्तारुढ गठबन्धनमा समस्या नभएको भए बिहीबारको प्रदेश सभा बैठकबाटै सभामुख टुंगो लागिसक्ने उनको दाबी थियो। यस्तै सभामुख चयनका लागि अब कसरी अगाडि बढ्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा यसबीच कांग्रेसले पनि उल्झन सिर्जना गरेको छ।
बिहीबार सत्तारुढ गठबन्धन सभामुखको निर्वाचन गराउने पक्षमा थिएन, कांग्रेसको जोडबलमा प्रक्रिया अघि बढेको हो’, सर्वदलीय बैठकमा सहभागी एक नेताले भने, ‘शुक्रबार कांग्रेसले अड्को थापेर दोस्रोपटक सभामुखको निर्वाचन हुन दिएन।’सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई ‘पहिलो गाँसमै ढुंगा’ लागेजस्तो भएको छ। अझै पनी सत्तारुढ गठबन्धनकै कारण सभामुख चयनको बारेमा अनिश्चीत जस्तै भएको उनको भनाई छ । कांग्रेसका सभामुख उम्मेदवार मानबहादुर रावलका विपक्षमा सत्ता साझेदार दलबाट खसेको २७ मत पछि गठबन्धनका माओवादीका भीमबहादुर भण्डारीका लागि मतविभाजन हुँदा आएन। एक मत बदर भएर २६ मत मात्रै आयो। सत्ता साझेदार माओवादी केन्द्रका सभामुखका उम्मेदवार भीमबहादुर भण्डारीले प्रदेशसभाबाट बहुमत जुटाउन सकेनन्। भण्डारीका पक्षमा २६ र विपक्षमा २३ मत खसे। बहुमत नजुट्दा कांग्रेसको प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएको थियो। कूल ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयन गर्न मतविभाजनमा ५० जना सांसद उपस्थित थिए। कांग्रेसका शिवराज भट्टले बैठकको अध्यक्षता गरिरहेकाले उनले मतविभाजनमा भाग लिन पाएनन्। सत्तारुढ दल नेकपा एमालेका प्रदेश सांसद चक्र मल्ल र नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी अनुपस्थित रहे।बिहीबार कसैले बहुमत जुटाउन नसक्दा प्रदेशसभाले सभामुख पाउन सकेन। जसले गर्दा शुक्रबारका लागि तोकिएको प्रदेशसभा बैठक बस्नै सकेको थिएन।

