सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा पाँचजना देखिएका छन्। कांग्रेसबाट प्रदेशसभामा १२ जना प्रत्यक्ष निर्वाचित भएका थिए । कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, प्रकाश बहादुर देउवा,प्रकाश बम, कमलबहादुर शाह र मेघराज खड्काले संसदीय दलको नेताका लागि दाबी गरेका छन् ।
यस्तै दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट र ओमविक्रम भाटको चर्चा छ। तेस्रो ठूलो दल नेकपा एमाले को संसदीय दलको नेतामा भने धर्मराज पाठक र राजेन्द्रसिंह रावलको चर्चा छ । उनीहरु दुवै जना समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य छन्। नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी, लक्षमण किशोर चौधरी र टीका थापाको नाम चर्चामा छ। यो समाचार तयार पर्दासम्म नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेको पाटीले जानकारी दिएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट १९, माओवादीबाट ११, एमालेबाट १० र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
यस्तै नेकपा एकीकृत समाजवादीका चार र राप्रपाका एक जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका डा. तारा जोशी पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। नागरिक उन्मुक्ति र राप्रपाको पहिलो पटक प्रदेशसभामा प्रतिनिधित्व हुन लागेको हो। यसअघिको प्रदेशसभामा प्रतिनिधित्व रहेको जनता समाजवादी पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी भने प्रदेशसभाको दोस्रो कार्यकालमा बाहिरिएको छ। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा दुवै दलबाट कोही पनि विजयी भएनन्। प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रको दाबी छ।“अधिकांस विजयी प्रदेशसभा सदस्य काठमाण्डौँ पुग्नुभएको छ”, प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले भने, “
यसैबीच प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई यही पुस १५ गते शपथग्रहण गर्ने तयारी भइरहेको छ। प्रदेशसभाका ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट शपथ लिएपछि ज्येष्ठ सदस्यले अन्य ५२ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने बताइएको छ। अछामबाट कांग्रेसबाट निर्वाचित ६८ वर्षीय मानबहादुर रावल प्रदेशसभा सदस्य छन्। प्रदेशसभा सचिवालले शपथग्रहण र प्रदेशसभाको बैठक सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय तयारी पूरा गरिसकेको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।
बैठक सञ्चालनका लागि प्रदेशसभा हललाई सजिसजाउ पारिएको छ। यस क्रममा प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल र माइक पुनः जडान गरिएका छन्। “सचिवालयले प्रदेश प्रमुख र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलसँग समन्वय गरेर शपथ ग्रहण र बैठक सञ्चालनको तयारी गरिरहेको छ”, उनले भने। सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ जना निर्वाचित भएका छन्। प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट पुरुष ३५ र महिला १८ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।रासस

