कैलाली। कैलालीमा कुटपिटबाट घाइते भएका एक जनाको मृत्यु भएको छ। कैलालीमा मंसिर २४ गते भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिट हुँदा गम्भीर घाइते भएका बर्दगोरिया गाउँपालिका–१ कट्टीपुरका ४० वर्षीय लालबहादुर बोहराको मृत्यु भएको हो। २४ मंसिरमा भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिटबाट घाइते भएका बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बोहराको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरेका छन्। बर्दगोरिया गाउँपालिकाको मुडामा घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारीसाधन मुडामा रोकिएका छन्।
डीएसपी जोशीले २४ गते भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिट हुँदा गम्भीर घाइते भएका बोहराको हिजो २७ गते उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बताए । उक्त घटनामा संलग्न सोही ठाउँका बर्दगोरिया गाउँपालिका–४ का २९ वर्षीय सुरेन्द्र डगौरा थारु र ३२ वर्षीय श्रवण चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरुलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।यता सो घटना देहव्यापारका कारण ज्यान गएको बुझीएको छ । यो पटक ज्यानै गए पनि यस भन्दा अघि यस्ता घटना नभएका होइनन् । मौलाउँदो देहव्यापारले हुने भिडभाडले कुटपिट, चोरी डकैती, लुटपाट, लागूपदार्थ खरिद बिक्री तथा सेवन लगायतका गतिविधिहरू विगत देखी नै निरन्तर छन् । तर प्रहरीले भने होटेल समयमा बन्द गर्ने आदेश दिन बाहेक माखो मार्न सकेको छैन । विकृति मौलाउँदै समाज नै समस्यामा पर्दा पनि स्थानीय सरकार समेत मुख दर्शक बनेको छ । स्थानीयहरू देहव्यापार बन्द हुनुपर्ने आवाज उठाउने गरे पनि गतिलो रूपमा अगुवाइ गर्न सकेका छैनन् ।


