काठमाडौं। आज निर्वाचन आयोगविरुद्ध परेका दुई रिटको सुनुवाई हुँदैछ । ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाई हुने भएको हो । आगामी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुविरुद्ध चलेको अभियानले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगले त्यसलाई चासोको रुपमा हेरेको थियो ।
आयोगले निर्वाचनको गतिविधि प्रभावित हुने भन्दै सो अभियान बन्द गर्न भन्दै विज्ञप्ति जारी गरेको थियो । त्यससँगै आम सर्वसाधारणदेखि संविधानविद्सम्मले आयोगको निर्णयको आलोचना गरेका थिए । त्यस्तै उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको माग दाबी लिएर अदालत पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको रिट पनि आज पेसीमा राखिएको छ । उनको रिटमाथि पनि आजै सुनुवाइ हुनेछ ।
नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यको रुपमा बैठक भत्ता लिने गरेको आधारमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको हो । तर कार्कीले आफूले सो विषयमा आयोगलाई जानकारी गराए पनि आयोगले त्यसलाई चासोका साथ नहेरेको भन्दै सोमबार अदालत गएकी थिइन् ।

