सुदुरपश्चिम। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानीको कार्यलाई तीव्रता दिएको छ। हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा बाहेक सम्पूर्ण जिल्लामा ढुवानी भइसकेको छ। केही दुर्गम जिल्लामा बाटोघाटोमा भएको अवरोधका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको आयोगले जनाएको छ।
प्रत्यक्षतर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लामा ढुवानीको क्रम सुरु गरिनेछ। यसैगरी आयोगले विभिन्न ५७ प्रकारका निर्वाचन सामाग्रीहरू मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायतको ढुवानी कार्य सुरु गरेको छ। सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा उक्त निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो।
अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने र त्यहाँबाट जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने आयोगले जनाएको छ। निर्वाचन अधिकृतले सम्बन्धित मतदान अधिकृतलाई बुझाउने छन्। आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानी कार्य भइरहेको जनाएको छ।आयोगले कार्यतालिका अनुसार १६ कात्तिकभित्र नै निर्वाचन सामग्रीको ढुवानी कार्य भइरहेको जनाएको छ।

