कैलाली। कैलालीमा बसको ठक्करबाट मृत्यु भएको भन्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। शुक्रवार बसको ठक्करबाट मृत्यु भएका प्रहरी हवल्दार नेत्र जैसीका आफन्तहरूले चालकलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै आज कैलालीको लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्। लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेपछि राजमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन ठप्प भएका छन्।
लम्कीचुहा नगरपालिका ३ इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार जैसीको बल्चौरदेखि चिसापानी जाने क्रममा शुक्रवार बसले ठक्कर दिँदा मृत्यु भएको थियो । जैसी सवार से १ ब २१६ नम्बरको मोटरसाइकल लाई ना ६ ख ७४५९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी हवल्दार जैसीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। लम्कीचुहा नगरपालिका घर भएका जैसी कार्यालयकै काममा वडा नम्बर ३ को बल्चौरमा डिउटीमा खटिएका थिए । डिउटी सकेर घर फर्किने क्रममा शुक्रवार साँझ अबेर दुर्घटना भएको हो । ठक्कर दिने बस र चालक ज्योतिसिंह चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

