धनगढी : आशन्न निर्वाचनमा प्रतिनिधीसभाका लागी कैलाली क्षेत्र नम्बर ४ मा नेताहरुको भागबन्डा मिलाउन गठबन्धनलाई निकै सकस परेको छ । एमाले सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टको गृह क्षेत्र भएका कारणपनि गठबन्धनले उनलाई हराउन बलियो उमेदवार उठाउने तयारी गरेको छ । यो क्षेत्रमा नेकपा एकिकृत समाजवादीले टिकट पाउने चर्चा भएपनि काग्रेंसका नेताहरुपनि बलियो रुपमा प्रस्तुत भइरहेका छन् ।
नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य, कैलाली ईन्चार्ज तथा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री दीर्घ सोडारी गठबन्धनबाट कैलाली ४ मा प्रतिनिधीसभाको उमेदवार बन्ने चर्चा छ । समाजवादीले सुदूरपश्चिममा पाउने भाग मध्ये उनि दोश्रो नम्बरमा छन् यस कारणपनि कैलाली क्षेत्र नम्बर ४ समाजवादीकै भागमा पर्ने सम्भावना बढी छ ।
तर क्षेत्र नम्बर ४ मा गठबन्धनबाट उमेदवार बन्न नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष तथा नेपाली काग्रेंसका केन्द्रिय सदस्य नैन सिहं महर सहित ६ जनाले दावी गरेका छन् । तर सिफारिश भएका मध्ये सबैभन्दा बलियो उमेदवारका रुपमा महरलाई लिइएको छ । कैलालीमा २ क्षेत्र अनिवार्य पाउनुपर्ने दावी गरेको काग्रेंसले ५ नम्बर र ४ नम्बर पाउने सम्भावना बलियो रहेको नेताहरु बताउँछन् ।
४ नम्बरमा काग्रेंसले टिकट नपाए गठबन्धनलाई जित्न गाह्रो पर्ने काग्रेंस नेताहरु बताउँछन् । तर नेकपा एकिकृत समाजवादीका नेताहरु भने सबैभन्दा बलियो गठबन्धनको उमेदवार दीर्घ सोडारीनै रहेको दावी गर्छन् ।
२०७४ सालमा काग्रेंसका उमेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले लेखराज भट्टले हराएका थिए । तत्कालिन माओवादी केन्द्रका नेता भट्टले ३१ हजार ३५९ मत पाउँदा प्रतिद्वन्द्वी भण्डारीले २० हजार ९६० मत पाएका थिए । भट्टले ०६४, ०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।

