धनगढी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पार्टीसँग पनि एकता नहुने बताएका छन्। सोमबार बिहान समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले अहिले कुनै पार्टीसँग पनि एकता नगरिने बताएका हुन्।
नेपालले भने, केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र चुनावअघि नै एकता हुने भन्ने खबर आएका थिए। त्यसतर्फ लक्षित गर्दै उनले अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्।‘चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन,’अध्यक्ष नेपालले भने, ‘पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन्। अहिले थर्कमान नहुनु उनले भने। मुटुको धड्कन नबढाएर ढुक्क भएर बसे हुन्छ।’उनले अहिले कुनै पार्टीसँग एकता गर्नेतिरभन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तार लगायतमा ध्यान दिइरहेको बताएका थिए। अध्यक्ष नेपालले आफ्नै बलमा जित्ने गरेर एकीकृत समाजवादी पार्टी देशभरका ७५३ वटै पालिका र पालिकाका वडामा संगठन निर्माण भइरहेको पनि बताए । उनले नीति, कार्यक्रम, विगत र व्यवहारका आधारमा चुनाव जित्ने भएकोले ती कुरा आफूहरुसँग भएको पनि दावी गरे ।
यस्तै अध्यक्ष नेपालले सुदूरपश्चिम सरकारको नेतृत्व समाजवादीले गर्ने बताए। ठुलो दलको हैसियतमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन्। अन्य दलको समर्थन पाएमा समाजवादी सरकारको नेतृत्व लिन तयार रहेको छ उनले भने । प्रदेश सरकारको नेतृत्वका लागि एकीकृत समाजवादी पार्टीले दाबी गरेको विषयमा धारणा राख्दै उनले उक्त दाबी स्वभाविक भएको बताए। अहिले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ। यहाँ अहिले माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। केही समययता सुदूरपश्चिममा सरकारको नेतृत्व परिवर्तनको चर्चा चलिरहेको छ उनले भने । यस्तै अर्को प्रसंगमा बोल्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीकै अडानका कारणले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित पास भएको तथा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता रोक्ने रोकिएको दाबी गरेका छन्।
उनले भने, विदेशी शक्तिको चलखेल बढेको बताउँदै सोही अन्तरगत विभिन्न खालका परियोजनाहरू आइरहेको टिप्पणी छ । प्रतिनिधिसभाबाट पारित भएको एमसीसी परियोजना विशुद्ध आर्थिक परियोजना हो की ? सैन्य रणनीतिको अंग हो ? भन्ने सवाल उठेपछि एकीकृत समाजवादी पार्टीको अडानका कारण व्याख्यात्मक घोषणासहित पारित भएको उनको दाबी छ । ‘पूर्व एमालेले एमसीसीलाई आँखा चिम्लेर पारित गर्न खोजेपछि तत्कालीन अवस्थामा पार्टीमा हामीले आफ्नो अडान राखेका थियौं’ नेपालले भने, ‘अहिले प्रतिनिधिसभाबाट पारित गर्दा पनि हाम्रै अडानका कारण व्याख्यात्मक घोषणासहित स्पष्ट पारिएको हो ।’ उक्त परियोजना एकतर्फी रुपमा कार्यान्वयन गर्न खोजेमा भंग गर्न सकिने पनि नेपालको दाबी गरे । विदेशी शक्तिको चलखेल अन्तरगत नै आएको एसपीपी परियोजनासमेत आफूहरुकै अडानका कारण रोकिएको जिकिर गर्दै उनले गठबन्धन सरकार भएकै कारण रोकिएको अन्यथा पारित भइसक्ने दाबी गरेका छन्।


