कैलाली । सुदूरपश्चिममा यस वर्षको बैशाखदेखि असार तेस्रो सातासम्म सुदूरपश्चिम प्रदेशमा चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश, जनावर आतंक, बाढी पहिरो, डुबान लगायतका एक सय २६ घटना भएका छन् । ती घटनामा १३ जनाले ज्यान गुमाएका छन् ।
४८ जना वेपत्ता भएका छन् । बैशाखदेखि असारसम्म प्राकृतिक विपदका घटनामा एक सय ४४ घरपरिवार प्रभावित भइसकेका छन् । विपदका घटनामा ८२ घरमा पूर्ण रुपमा क्षती भएको छ भने ३४ घरमा आंशिक क्षति पुगेको छ ।सुदूरपश्चिम प्रदेशमा यस वर्ष दुई लाख बढी जनसंख्या विपदका घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ ।
मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, डुबान लगायतका विपदका घटनाबाट प्रदेशमा यस वर्ष दुई लाख ६३ हजार तीन सय १५ जना प्रभावित हुने अनुमान गरिएको हो । प्रदेश सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ अनुसार यस वर्ष कैलाली र कंचनपुर जिल्लामा बाढीका कारण कुल दुई लाख तीन हजार छ सय ९५ जनसंख्या तथा अन्य सात जिल्लाहरूमा पहिरोका कारण ५९ हजार सात सय २० जना प्रभावित हुनसक्ने अनुमान गरिएको छ । तर सुदूरपश्चिम सरकारले विपद व्यवस्थापनका लागी चाहिने आवश्यक सामग्री अझै खरिद गरेको छैन्।
मनसुन भित्रिएको झण्डै एक महिना पुग्नै लाग्दा पनी सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अझै प्राकृतिक विपद व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद नगरेको पाइएको हो ।प्राकृतिक विपदका समयमा हुने सम्भाव्य जनधनको क्षति कम गर्न आवश्यक खोज तथा उद्दार सामग्रीहरू आवश्यक पर्दछ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि खोज तथा उद्दार सामग्री खरिदका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो । मन्त्रालयका अनुसार सामग्री खरिदका लागि मन्त्री स्तरीय निर्णय भई आवश्यक सामग्रीको विवरण समेत तयार भइसकेको छ । तर विपद व्यवस्थापनका लागी चाहिने सामग्री खरिद भएको छैन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक कर्मचारीले सचिव विदामा भएकाले खरिदको काम अघि बढ्न नसकेको बताए ।
मन्त्रालयले विपद व्यवस्थापनका क्रममा खोज तथा उद्दारका लागि आवश्यक पर्ने झोला, टर्च लाइट, गतिशिल डोरी, पहिलो सहायता बक्स, गोताखोर सुट, रक हेल्मेट, स्टे«चर लगायतका सामग्री खरिद गर्ने तयारी गरेको थियो । मन्त्रालयले समय अभाव देखाउँदै खोज तथा उद्दारका लागि आवश्यक सामग्री खरिद गर्न नसकेको मन्त्रालयका योजना अधिकृत मनोज जोशीले बताए । हरेक वर्ष खोज तथा उद्दार सामग्री अभाव भएकै कारण प्रदेशमा प्राकृतिक विपदका घटनामा जनधनको क्षती हुने गरेको छ । गत वर्ष असोजको अन्त्य र कार्तिकको पहिलो साता आएको बेमौसमी वर्षामा पनि खोज तथा उद्दार सामग्री अभाव भएपछि प्रदेशका पहाडी जिल्लामा हेलिकोप्टर प्रयोग गरिएको थियो । बाढीका कारण सबैभन्दा बढी कञ्चनपुरमा प्रभावित हुने अनुमान गरिएको छ । सो कार्ययोजना अनुसार कञ्चनपुरमा एक लाख नौ हजार आठ सय १८ जना प्रभावित हुने अनुमान गरिएको छ । बाढी र पहिरोको उच्च जोखिममा रहेको कैलालीमा ९३ हजार आठ सय ७७ जना प्रभावित हुने अनुमान गरिएको छ ।
प्रदेशका सात पहाडी जिल्लामा पहिरो र बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ । सो कार्ययोजना अनुसार डोटीमा १४ हजार चार सय ६१, बाजुरामा ११ हजार दुई सय ८४, बैतडीमा १० हजार ८५, डडेल्धुरामा नौ हजार तीन सय २५, बझाङमा पाँच हजार दुई सय ७१, अछाम चार हजार आठ सय एक र दार्चुलामा चार हजार तीन सय ९३ जना प्रभावित हुने अनुमान गरिएको छ । ‘नेपाल मनसुन फोरमले, यस वर्ष कैलाली, कञ्चनपुरको दक्षिणी क्षेत्र तथा बझाङ, बाजुरा र दार्चुला जिल्लाको उत्तरी भगमा सरदरभन्दा वढी वर्षा हुने सम्भावना ५५ देखी ६५ प्रतिशत रहेको छ भने अन्य स्थानहरूमा ३५ देखि ५५ प्रतिशत सम्भावना रहेको पाइन्छ’ सो कार्ययोजनामा भनिएको छ– यस विश्लेषणका आधारमा यस वर्षको मनसुनमा विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने आंकलन गर्न सकिन्छ ।’
विगत ११ वर्षको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा कुल एक सय ६९ वटा बाढीका घटनाहरू भएका थिए । जसमा ७१ जना मानिसको मृत्यु भएको थियो भने २२ जना घाइते र ५३ जना वेपत्ता भएका थिए । कैलाली, कंचनपुर जिल्लामा बाढी तथा डुबानका घटनाहरू अत्याधिक रहेको तथा बझाङ, डोटी, बाजुरा जिल्लामा पनि बाढीका घटना घटेको सो कार्ययोजनामा उल्लेख छ । २०६८ देखि २०७८ सम्मको अवधिमा प्रदेशभरी दुई सय २६ वटा पहिरोका घटना घटेका कारण एक सय ३२ जना मानिसको मृत्यु भएको, ९९ जना घाइते तथा २६ जना बेपत्ता भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा चार सय तीन वटा विभिन्न विपदका घटना भएकोमा ५९ जना मृत्यु भएको थियो भने १० जना वेपत्ता र एक सय ३२ जना घाइते भएका थिए । विपदका विभिन्न घटनाबाट पाँच सय २७ घर परिवार प्रभावित भएका थिए । सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको विपद जोखिम नक्सांकन अनुसार बाढीको मध्यम जोखिममा कैलाली र कञ्चनपुर रहेको छ भने पहिरोको जोखिममा अछाम, बैतडी, बझाङ, बाजुरा, दार्चुला र डोटी जिल्ला रहेका छन् । खडेरीको उच्च जोखिममा अछाम रहेको छ भने जोखिममा बझाङ, बाजुरा, डडेल्धुरा र डोटी रहेको उल्लेख गरिएको छ ।


