कञ्चनपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन् । ‘जनता मालिक हुन्, जिताउने र हराउने जनता नै हुन्,’ देउवाले भने, ‘त्यही भएर जनताको काम राम्ररी गर्नुस् ।’ कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू सहभागी थिए ।
सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर आएका प्रधानमन्त्री देउवाले यहाँ कांग्रेसबाट नवनिर्वाचित जनप्रतिनिधिहरूसँग भेट गरी उनीहरूलाई बधाइ तथा शुभकामना ज्ञापन गरेका थिए । जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरुमा सुशासन कायम गरी जनभावनाअनुसार काम जनप्रतिनिधिसँग अनुरोध गरे । कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।

