काठमाडौं। अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहविरुद्ध जबरजस्ती करणीको आरोपमा जाहेरी दिने किशोरी (गायिका)को बुबाले पनि बयान फेरेका छन् ।
मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा किशोरीको बुबाले आफैले जाहेरी दिएको तर पछि बुझ्दै जाँदा त्यो कुरा यथार्थ नभएको भनी बयान दिएका हुन् । त्यसोत, गत आइतबार मात्र बकपत्रका क्रममा पीडित किशोरीले पनि आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन् । पीडित किशोरीले जाहेरीमा उल्लेखित विवरणहरु कसैको उक्साहटमा लेखिएको जिकिर गर्दै प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको उनले दाबी गरेकी थिइन् ।
यसैक्रममा आज बकपत्र गर्ने क्रममा किशोरीको बुबाले पनि जाहेरी आफैले दिएको तर पछि बुझ्दै जाँदा यथार्थ विवरण थाहा भएको उल्लेख गर्दै भनेका छन्, ‘सबै विवरण मैले लेखेको हो । त्यसमा शंका छैन । अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’ गत ११ फागुनमा किशोरीका बुबाले जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएपछि तनहुँ प्रहरीले पल शाहलाई नियन्त्रणमा लिएको थियो । अहिले अभिनेता पल शाह पूर्र्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् ।
अब के हुन्छ मुद्दा ?
एक वकिलकाअनुसार किशोरीका बुवाको पनि बयान सकिएको छ । ‘‘किशोरीका बुवा पनि होस्टाइल हुनुभयो । यो एउटा व्यक्तिको कुरा होइन । सिंगो समाजको कुरा हो । शक्तिमा भएको मानिसले होस्टाइल गरियो भने पीडितले जाहेरी नै नदिन प्रवृत्ति बढ्ने सम्भावना हुन्छ,” ती वकिलले भने ।
अब अदालतले निर्णय लिनेछ । बयान फेरिएको अवस्थामा सर्वोच्च अदालतबाट एक किसिमका र जिल्ला अदालतबाट अर्कै किसिमका नजिरहरू प्रतिपादन भएको ती वकिलले बताए ।‘‘व्यवहारिक रूपमा सर्वोच्च र जिल्ला अदालतमा भएका गतिविधिहरू कन्ट्याक भएजस्तो देखिन्छ । जाहेरवाला र प्रतिवादीले होस्टाइल गरिसकेपछि मुद्दा सिथिल हुँदै जाने र प्रतिवादी छुट्ने सम्भावना जिल्ला अदालतमा प्रवल हुन्छ भने सर्वोच्चमा तत्काल छोड्न सकिने अवस्था हुँदैन,” उनले भने, ‘‘पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति छिट्टै छुट्ने सम्भावना हुन्छ।
यहाँ जाहेरवाला र प्रतिवादीको भिजन देखियो ।”तनहुँ अदालतका वकिलकाअनुसार बुवा र छोरीको होस्टाइलका आधारमा अदालतको भिजन देखिएको छैन । यसअघि पीडितको जाहेरीका आधार र अनुसन्धानका आधारमा थुनामा राख्ने अदालतको भिजन देखिएको उनले बताए । अहिले होस्टाइल भइसकेको अवस्थालाई अदालतले कस्तो रूपमा लिन्छ त्यसैमा भर पर्ने उनले बताए । किशोरीले यसअघि जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला अदालत नवलपुर र तनहुँमा जाहेरी दिइकी थिइन् । प्रतिवादी पल शाहलाई १२ देखि १४ वर्ष जेल सजायको मागदाबी गरिएको थियो ।