अछाम। अछामका एक पुरुषको भारतमा सवारी दुर्घटनामा परी ज्यान गएको छ।अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ थाल्पाटा निवासी ५३ बर्षका सूर्य बहादुर बुढाको भारतको बङ्गलोरमा सवारी दुर्घटनामा परी उपचारको क्रममा निधन भएको हो।
गत मंसिर महिनामा बुढा सवार बस दुर्घटना हुँदा गम्भीर घाईते भएका उहाँको बुधबार ज्यान गएको मृतकका भतिजा राज बहादुर बिसीले बताए। दुर्घटनामा परी घाईते भएका उहाँको उपचारको क्रममा करिब १० लाख बढी खर्च समेत भैसकेको शिक्षक बिसीले बताए। श्रीमती सहित ४ छोरा र १ छोरी रहेका बुढा रोजागारीका लागि श्रीमती संगै गत मंसिर महिनामा भारत गएका थिए।
भारत गएको केही दिनमै दुर्घटनामा परेका उहाँको विभिन्न अस्पतालमा उपचार गर्दै ठुलो धनराशी खर्च भएको र अन्ततः उहाँको नै निधन भए पछि आश्रित परिवार समस्यामा परेको छ । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार ४९ हजार ९ सय ६९ परिवार संख्या रहेको अछामका अधिकांश घरपरिवारबाट कम्तिमा एक जना भारतमा रहने गरेको सरोकारवालाहरुले बताएका छन्। संघ, प्रदेश तथा स्थानीय तहबाट रोजगारीका केही गतिविधि सञ्चालन भए पनि त्यो प्रयाप्त नहुँदा बाहिर जाने क्रम घटेको पाईदैन। भारतमा काम गर्ने क्रममा दुर्घटना हुने, बेपत्ता हुने लगायतका समस्या बढ्दै गैरहेका छन्।


