धनगढी। कैलाली बहुमुखी क्याम्पसले व्यवस्थापन संकाय (बिबिएस) बाट सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको जनाएको छ। केही दिन अघि त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको बिबिएस तेस्रो वर्षको नतिजामा क्याम्पसले राम्रो नतिजा ल्याएको जनाएको हो। जम्मा ९ जना विद्यार्थीले ७० प्रतिशत भन्दा माथि नतिजा ल्याएका छन्।
त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको नतिजा अनुसार कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी प्रदीप जोशीले ७८ दशमलव ८० प्रतिशत ल्याएर देशभरमै पाँचौ स्थान हासिल गरेका छन्। यस्तै नीरज दाहालले ७७.८० प्रतिशत, चन्द्र बोगटी र महेश रिजाल समान ७४.६० प्रतिशत र छत्र भण्डारी ७३.२० प्रतिशत नतिजा ल्याउन सफल भएको क्याम्पसका व्यवस्थापन संकायका विभागीय प्रमुख दिनेश पौडेलले जानकारी दिए।
पौडेलले फाइनान्स विषयमा ९३ अङ्क ल्याउन सफल तथा देशभरमै पाँचौ स्थान हासिल गर्न सफल विद्यार्थी प्रदीप जोशीलाई एक हजार रुपैँया पुरस्कार स्वरूप प्रदान गरेका छन्। यस्तै, उत्कृष्ट ४ मा दिनेश भट्ट ७२ प्रतिशत, पूरन साउँद ७१.४० प्रतिशत , स्वस्तिक जैरु ७०.६० प्रतिशत र अर्जुन देव भट्ट ७० प्रतिशत नतिजा ल्याएका छन्।


