काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणाली बन्द भएको छ । यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ ।
मर्मतका लागि भन्दै बिहीबारबाट अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो । विभागले नयाँ लाइसेन्सको आवेदन सोमबार साँझ ५ बजेदेखि खुला गरेको थियो । तर, छ महिनापछि आवेदन खुलेसँगै एकैचोटि चाप पर्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए ।
उनले लाइसेन्स आवेदन खुला गर्नासाथ करिब ९–१० लाख मानिसले एकैचोटि फारम भर्ने प्रयास गर्दा बुधबारदेखि सर्भर पूर्ण रुपमा बन्द रहेको बताए । प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले जतिसक्दो चाँडो आवेदन खुलाउने उनले बताए । सवारीचालक अनुमतिपत्र लाइसेन्सका लागि आवेदन दिएर बसेका अझै साढे ३ लाख बढी लाइनमा छन् । यो संख्या काठमाडौं उपत्यकामा रहेका कार्यालयमा सबैभन्दा बढी छ ।
उपत्यकामा ४ र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन्। विभागका सूचना अधिकारी भुसालले यसअघि नै आवेदन दिएर बसेकाहरुको पालो पहिले आउने बताए । उनले हालै आवेदन दिएकाहरुको पालो भने उपत्यकामा भए चार महिनामा र उपत्यकाबाहिर भए एक महिनामा आउने जानकारी दिए । विभागले हाल नयाँ मापदण्डअनुसार लाइसेन्सको परीक्षा लिन सुरु गरेको छ । नयाँ मापदण्डअनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल) परीक्षाका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ ।


