दार्चुला। दार्चुलाको चीनसँगको सीमा क्षेत्र ब्यास गाउँपालिका–१ तिंकरमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको छ ।
कात्तिकको सुरुवातमै भएको हिमपातका कारण अत्यधिक चिसो बढेपछि प्रहरी टोली छाङरु झरेको दार्चुला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । सीमा प्रहरी चौकी तिंकरका इन्चार्ज प्रहरी नायव निरीक्षक हर्क महतारा नेतृत्वको प्रहरी टोली ६ कात्तिकमा छाङरुमा सरेको डिएसपी भट्टले बताए।
तिंकर गाउँभन्दा माथिल्लो क्षेत्र छियालेकमा प्रहरी बस्ने गरेको छ । ‘तिंकरमा चिसोले पानीसमेत जम्ने अवस्था भएपछि प्रहरी टोली छाङरु झरेको छ। तिंकर गाउँसम्म छाङरुबाटै गस्ती गर्ने गरिएको छ’, डिएसपी भट्टले भने। छाङरु प्रहरी चौकीबाट पनि चारजना ब्यास गाउँपालिका–२ दुम्लीङ प्रहरी चौकी झरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुष्कर सिह ऐरीले बताए।
‘तिंकरको प्रहरी टोली तल झरेपछि तलबाट चारजना दुम्लिङ झरेका छन् । तिंकरबाट तल सामान ओसार्ने काम भइरहेको छ’, उनले भने। दुवै चौकीका प्रहरी बस्न ठाउँ अभाव भएर केही दुम्लिङ झरेका हुन् । सीता पुलमा प्रहरीको नयाँभवन निर्माणको कामसमेत भइरहेको छ।सीता पुल भारतसँग सीमा जोडिएको क्षेत्र हो। भारतको गव्र्याङ गाउँ र नेपालको छाङरु गाउँ जोड्ने नाका सीता पुल हो। सीता पुलमा महाकाली नदीमाथि काठेपुल राखिएको छ।
छाङरुदेखि १२ किलोमिटर उत्तरपूर्वमा तिंकर गाउँ छ। तिंकर उत्तरतर्फको अन्तिम बस्ती हो। तिंकरबाट ५र६ घण्टा हिमाल चढेपछि चीनको सीमा क्षेत्र पुगिन्छ। भारतले अतिक्रमण गरेको कालापानी नजिकका गाउँहरू छाङरु र तिंकरमा हिउँदमा भारी हिमपात हुने गरेको छ । छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना हुनुभन्दा पहिले छाङरु र तिंकरको प्रहरी टोली हिउँदमा ब्यास गाउँपालिका–२ दुम्लिङ झर्ने गरेको थियो । सशस्त्रको गुल्म छाङरुमा बाह्रै महिना बस्न थालेपछि प्रहरीले पनि छाङरुमा बाह्रै महिना उपस्थिति जनाउन थालेको छ ।


