धनगढी। सर्वोत्कृष्ट नायक (डोटेली)’ को अवार्ड बोग्टानी किङलाई घोषणा गरिएको छ। डोटेली भाषिकाका चलचित्र होस् या गीतमा अभियन गर्दै आएका विनोद बोहरा ‘बोग्टानी किङ’लाई डोटेली भाषिकको सर्वोत्कृष्ट नायकको अवार्डले सम्मान गरिएको हो ।
काठमाडौंमा पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल)ले गरिएको पिम नेपाल फिल्म फेष्टिबल २०२० र २०२१ को आयोजनामा गरेको कार्यक्रममा धनगढीका ‘बोग्टानी किङ’लाई डोटेली भाषाको चलचित्रमा अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेको भन्दै सर्वोत्कृष्ट नायक (डोटेली) घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेशमा गर्ने भनिएको कार्यक्रम कोभिड – १९ का कारणले रोकिएको हुँदा सो कार्यक्रमलाई दुई वर्षको एकैपटक गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा चलचित्र महोत्सवमा सहभागी भएका सिनेमालाई प्रतिस्पर्धा गराई विभिन्न विधामा अवार्ड प्रदान गरिएको कार्यक्रमका सभापति तथा चलचित्र निर्देशक मोहन निरौलाले बताए । महोत्सव समारोहमा १७ वटा फिचर फिल्म, ५० बढी सर्टमुभी र १० वटा वृत्तचित्रको सहभागिता रहेको कार्यक्रममा सुदूरपश्चिमको डोटेली भाषिकामा सर्वोत्कृष्ट नायकका रुपमा बोग्टानी किङलाई घोषणा गरिएको फेष्टिबलका अध्यक्ष कमला जोशीले बताइन् ।
आयोजकले सुदूरपश्चिममा निर्मित भाषाभाषीका चलचित्र त्यसका कथा, विषयवस्तु र अभिनय बारे अध्ययन गरेका थिए । अध्ययन पश्चात् डोटेली भाषाका चलचित्रमा उत्कृष्ट अभिनय गरेको भन्दै ‘बोग्टानी किङ’लाई उत्कृष्ट नायकका रुपमा अवार्ड वितरण गरिएको आयोजकले जनाएको छ। नायक बोग्टानी किङले चलचित्रमा अभिनय,सुदूरपश्चिमका चर्चित गीतहरुमा पनि मोडलिङ गरेका छन् । उनले अहिलेसम्म दर्जनौ गीतमा अभियन गरिसकेका छन् । थारु तथा डेउडा र आधुनिक गीतमा अभिनय गरिसकेका बोगटानी किङ पछिल्लो समयमा डोटेली भाषिकाका चलचित्र तथा गीतहरुमा आफ्नै छुट्टै पहिचान बनाइसकेका छन् ।