धनगढी। कैलालीमा मासु पसल सञ्चालनका विषयमा विवाद हुँदा चक्कु हानाहान भएको छ । कैलालीको धनगढीमा मासु पसल सञ्चालनका विषयमा दुई पक्षबीच विवाद हुँदा चक्कु हानाहान भएको हो।
मस्जिदसँगै मासु पसल सञ्चालन गरिरहेका पप्पु कुरेसी पक्ष र उक्त पसल बन्द गराउनुपर्ने माग गर्दै आएको अर्को पक्षबीच विवाद बढ्न थालेपछि दुवै पक्षबीच दैनिक तनाव भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मासु पसल सञ्चालनको विवाद बढ्न थालेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा दुवै पक्षबीच दैनिक तनाव भइरहेको जानकारी दिए। ‘एक पक्षले अर्को पक्षलाई आरोप लगाउने क्रम जारी छ,’ उनले भने।
सो क्रममा बिहीबार चक्कु हानाहान भएको स्थानीयले बताएका छन्। चक्कु प्रहारबाट २ जना घाइते भएको बताइएको छ। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले सो क्षेत्रमा दैनिक तनाव भइरहेको तर चक्कु प्रहारबारे हालसम्म पुष्टि नभएको बताए। ‘बिहीबार राति पनि आफूहरुमाथि २ जनाले चक्कु प्रहार गरेको भन्दै केही व्यक्ति प्रहरी समक्ष आएका थिए,’ उनले भने, ‘ती दुवैजनालाई पक्राउ गरेर सोधपुछ गर्दा चक्कु प्रहार गरेको पुष्टि भएन। त्यसपछि आफन्तको जिम्मा लगाएका छौ।’
मस्जिदसँगै मासु पसल सञ्चालन गरेका पप्पु कुरेसीलाई भने केही दिन अघि प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। उनीमाथि झै–झगडा गरेको आरोप लागेको प्रहरीले जनाएको छ। यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नेपाली नूरी जामे मस्जिद संघले बिरोध गरेपछि उपमहानगरपालिकाले बधशाला सिल गरेको थियो। तर कुरेसीले अदालतबाट अन्तरिम आदेश ल्याएपछि उक्त स्थानमा पसल पुनः सञ्चालन आएको जनाइएको छ।