दार्चुला। दार्चुलाको दुहुँमा बाढि र पहिरोले वितण्डा मच्चाएको छ। गएरातीबाट आएको अविरल वर्षाका कारण दुहुँ गाउँपालिका भरी बाढि र पहिरोले वितण्डा मच्चाएको हो। गाउँपालिकाको सबै वडामा पहिरोले दर्जनौ घरमा क्षति पुर्याएको छ । स्थानीय लोकेन्द्र बहादुर बमका अनुसार दुहुँ गाउँपालिका १ को पिपलचौरीमा दुई वटा घर पूर्ण रुपमा क्षति भएको छ ।
२५ बढि घरहरुमा पहिरोको जोखिममा छन् । दुहुँ गाउँपालिकाका ३ वटा लघुजलविद्युतमा क्षति पुगेको छ । वडा नम्बर २ को सिमार खोला १८ किलोवाट, वडा नम्बर ५ को कालागाड ३४ किलोवाट र कालागाड दोस्रो ४० किलोवाट जलविद्यूतमा क्षति पुगेको वमले जानकारी दिए । गाउँपालिकाभरीका ५ वटा झोलुंगे पूल बगाएको छ ।
आधा दर्जन बढि पानी घट्ट बगेका छन् । ३ जनाको ज्यान गएको छ । ठाउँ-ठाउँमा पहिरो गएको छ । पहिरोले के कति क्षति गरेको बारे एकिन जानकारी अझै आएको छैन् । गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की लगायतको टोली सबै क्षेत्रको निरीक्षणमा निस्किएको वमले जानकारी दिए। दुहुँबाट सदरमुकाम खलंगा आउने बाटो अवरुद्ध भएको छ । दुहुँ र महाकाली नगरपालिका जोड्ने दार्चुला तिंकर सडक खण्डको निजाङगाड खोलामा पक्की मोटरेवल पूल बगाएपछि सम्बन्ध विच्छेद भएको छ ।





