दार्चुला। महाकाली नदीमा तुइन तर्ने क्रममा नदीमा खसेर दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनासम्बन्धी अनुसन्धानमा नेपाली टोलीलाई भारतले ‘असहयोग’ गरेको छ । १० दिनभित्र अनुसन्धान नसकिएपछि टोलीलाई गृहमन्त्री बालकृष्ण खाँणले सोमबार ७ दिन म्याद थपिदिएका छन् । दार्चुलाको व्यास–२ मालघाटमा एसएसबीले तुइन फुस्काउँदा महाकालीमा जयसिंह धामी बेपत्ता घटनाको छानबिनका लागि शुक्रबार गाउँ पुगेको गृह मन्त्रालयको टोली पुगेको थियो ।दार्चुला सदरमुकाम खलंगा जान साउन १५ गते व्यास गाउँपालिका–२, खाङदाङ (मालघाट)मा रहेको तुइनबाट महाकाली नदी तर्ने क्रममा ३३ वर्षीय जयसिंह धामी खसेर बेपत्ता भएका थिए । तुइनबाट नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले लट्ठा खुस्काउँदा उनी महाकालीमा खसेको स्थानीयको भनाइ छ ।
घटनाको दुई दिनपछि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको टोली साउन १९ बाटै खलंगालाई मुकाम बनाएर घटनाको प्रमाण संकलनमा जुटे पनि भारतीय पक्षले सहयोग नगरेको स्रोतले जनाएको छ । गृहमन्त्री खाँणले राष्ट्रिय सभामा १८ गते र प्रतिनिधिसभामा १९ गते दार्चुला घटनाबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका थिए । छानबिन समितिले स्थानीय र प्रत्यक्षदर्शीसँग कुराकानी तथा घटनास्थलको अनुगमन गरिरहेको छ । तर ठोस प्रमाण हात लागेको छैन । भारतीय प्रशासन घटनामा एसएसबीका जवान संलग्न रहेको आरोप पुष्टि नहुने भन्दै पन्छिएको छ । तुइनको लट्ठा खुस्काउने एसएसबीका जवान पहिचान गरी कारबाहीको दायरामा ल्याउन पिथौरागढस्थित भारतीय जिल्लाधिकारी (डिस्ट्रिक मजिस्ट्रेट) को कार्यालयलाई नेपाली पक्षले आग्रह गरेको थियो ।
बेपत्ताको खोजबिन गर्न घटनास्थल हुँदै महाकाली क्षेत्रका दार्चुला, बैतडी र कञ्चनपुर तथा त्यही आसपासको भारततर्फ ड्रोन उडाउने प्रयास पनि विफल भएको छ । दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले महाकाली नदीपारि किनारै किनार ड्रोन उडाउन साउन २३ मा पिथौरागढस्थित जिल्लाधिकारीलाई पत्र पठाइएको तर मंगलबार साँझसम्म कुनै जवाफ नआएको बताइन् । पत्र पठाएको भोलिपल्टै प्रहरी प्रधान कार्यालयबाट ड्रोनसहितको प्राविधिक टोली खलंगा पुगेको थियो । महाकाली नदीपारि ड्रोन उडाउन भारतीय प्रशासनको अनुमति चाहिन्छ । भारतले अनुमति नदिएपछि प्राविधिक टोलीले नेपालतर्फको भूभागमा मात्रै ड्रोन उडाएर बेपत्ताको खोजबिन थालेको छ । बेपत्ता धामीको खोजीमा सुरक्षाकर्मी र स्थानीय जुटेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दुई साता पुग्न लाग्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेकामा सरकार थप गम्भीर बनेको बताए । प्रतिवेदनको राय र सुझावका आधारमा बेपत्ताको परिवारका लागि राज्यका तर्फबाट राहत तथा संरक्षणका विषयमा उचित निर्णय लिइने पनि उनले जनाए । ‘दार्चुला घटनालाई सरकारले गम्भीर रूपमा लिएर नै सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो,’ पोखरेलले कान्तिपुरसँग भने, ‘समिति अहिले पनि फिल्डमै छ, प्रमाण संकलनको काम भइरहेकै छ ।’ उनका अनुसार घटनाबारे सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धित संयन्त्रसँग पनि छलफल र परामर्श गर्न निर्देशन दिइएको छ ।
दार्चुला घटनाः कहिले के भयो
साउन १५ गतेः जयसिंह धामी तुइनबाट महाकालीमा खसेर बेपत्ता
साउन १६ गतेः एसएसबीले ‘तुइन काटेको’ घटनामा अनुसन्धान गर्न पिथौरागढका जिल्लाधिकारी आनन्द स्वरुपलाई दार्चुला प्रशासनको पत्र
साउन १६ गतेः घटनाको छानबिन गरी संलग्नलाई कारबाही माग गर्दै धामीका परिवारबाट प्रशासनलाई ज्ञापनपत्र
साउन १७ गतेः गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन
साउन १८ गतेः गृहमन्त्री बालकृष्ण खाँणद्वारा राष्ट्रिय सभामा घटनाबारे जानकारी
साउन १९ गतेः गृहमन्त्री बालकृष्ण खाँणद्वारा प्रतिनिधिसभामा घटनाबारे जानकारी
साउन १९ गतेः छानबिन समिति सदरमुकाम खलंगामा
साउन २० गतेः घटनाबारे छलफल
साउन २१ गतेः तुइन भएको भारत तर्फको घटनास्थल गस्कुको निरीक्षण
साउन २२ गतेः नेपाल तर्फको घटनास्थल मालाघाटको निरीक्षण
साउन २३ गतेः बेपत्ताको खोजी गर्न घटनास्थल हुदै महाकाली नदीमा ड्रोन उडाउन अनुमति माग्दै भारत पिथौरागढ प्रशासनलाई दार्चुला प्रशासनबाट पत्र, भारतीय प्रशासनबाट नेपालको आग्रह अटेर
साउन २३ र २४ गतेः छानबिन समिति खलंगामा बसेर घटनाको समीक्षा
साउन २४ गतेः ड्रोनसहित प्रहरी प्रधान कार्यालयबाट गएको प्राविधिक टोली खलंगामा
२५ गतेः छानबिन समिति बैतडी सदरमुकाम प्रस्थान
साउन २५ गतेः छानबिन समितिको म्याद ७ दिन थप

