धनगढी। कैलालीको धनगढीस्थित गौरीफन्टा नजिक बडहरा जंगलको बीचमा १ हजार शय्याको होल्डिङ सेन्टर निर्माणको काम भइरहेको छ । भारतसँग जोडिने सुदूरपश्चिमकै प्रमुख नाका कैलालीको धनगढीस्थित गौरीफन्टा नजिक बडहरा जंगलको बीचमा संघीय सरकारको २८ करोड ८१ लाखको लागतमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माण भइरहेको हो । कैलालीको तेघरीस्थित नेपाली सेनाको भवानीदल गणको नेतृत्वमा उक्त होल्डिङ सेन्टरको निर्माणको काम धनगढीस्थित नेपाल–भारत सीमा नाका गौरीफन्टा नजिकै सेनाको नेतृत्वमा निर्माण भइरहेको हो । निर्माणको काम असार तेस्रो साता काम सुरु गरीएको निर्माण कम्पनीले जगको सबै काम पूरा गरिसकेको छ । निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनका इन्जिनियर विक्रमकुमार शाक्यले ‘काम सुरु गरेको २० दिनमा मुख्य काम सकिसक्यौं,’ उनले भने, ‘५० प्रतिशत काम पूरा भइसक्यो ।’ गौरीफन्टाको मोहना पुलदेखि करिब एक किलोमिटरजति टाढा चक्रपथसँग जोडिएको बडहरामा उक्त होल्डिङ सेन्टर निर्माण भइरहेको हो । सेनाले गत असार ३ गते हनुमान कन्स्ट्रक्सनसँग निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका प्राविधिकहरूका अनुसार करिब २४ हजार वर्गमिटर क्षेत्रफलमा ५९ वटा ब्लकहरू बन्छन् । २० वटा ब्लक क्वारेन्टाइनका लागि प्रयोग हुनेछन् । एउटा ब्लकमा ५० शय्या स्थापना गरिने छ । १५ ब्लक भान्साका लागि प्रयोग गरिने र २२ वटा ब्लकमा शौचालय निर्माण गरिने कम्पनीका अर्का इन्जिनियर गोविन्द काफ्लेले जानकारी दिए । दैनिक दुई सय बढी कामदार र प्राविधिक खटिइरहेको र भदौ मसान्तभित्र निर्माण सक्ने लक्ष्य रहेको इन्जिनियर काफ्लेले बताए । भवनमा जगभन्दा माथि प्रिफ्याब लगाइने र जस्तापाताको छाना रहने उनले बताए । भवनमा सुरक्षाकर्मीहरू बस्ने प्रबन्ध पनि हुने डिजाइन गरिएको छ । प्रिफ्याबको भवन भए पनि कम्तीमा २५ वर्षसम्म टिकाउ हुने उनको भनाइ छ । होल्डिङ सेन्टरभित्र हरेक शय्यामा अक्सिजन आपूर्ति गर्ने उपकरणहरू जडान गरिने योजना रहेको इन्जिनियर काफ्लेले बताए । चारैतिर जंगलले घेरिएको मोहना नदी किनारको बडहरामा पर्ने उक्त ठाउँ एकान्त छ । बस्ती नजिक बनाउँदा संक्रमण फैलन सक्ने जोखिम हुने भएकाले एकान्त ठाउँ रोजिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
स्थानीय प्रशासन र उपमहानगरका प्रतिनिधिहरूले त्यहाँ रहेका सिसमका रूख र बुट्यान रहेको सामुदायिक वन क्षेत्र फडानी गरेर होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको त्यस क्षेत्रका वडाध्यक्ष धनगढी–३ का वडाध्यक्ष बलबहादुर ऐरले बताए । निर्माणसम्पन्न भएर सञ्चालनमा आएपछि भारतबाट आएका सबैलाई होल्डिङ सेन्टरमा राखेर कोरोना जाँच गरेपछि मात्र घर पठाउने व्यवस्था गर्ने योजना रहेको सामाजिक विकास मन्त्री लालबहादुर खड्का बताउँछन् । ‘विगतमा भारतबाट आउनेहरू सिधै गाउँमा जाँदा समस्या भयो,’ मन्त्री खड्का भन्छन्, ‘अब परीक्षण गराएर संक्रमितको त्यही र आवश्यकताअनुसार अन्य कोभिड अस्पतालमा उपचार गर्ने र संक्रमण नदेखिएकाहरूलाई मात्र गाउँ जाने व्यवस्था मिलाउँछौं ।’
संघीय सरकारको बजेटबाट निर्माण भइरहेका होल्डिड सेन्टरको साथै सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामै व्यवस्थित प्रतीक्षालय कक्षहरू पनि निर्माण गरिरहेको बताए । मन्त्री खड्काले कोरोनाको पहिलो र दोस्रो लहरा फैलिएको कोरोना महामारीले सुदूरपश्चिमलाई निकै अत्याएको बताए । त्यसबेलाको अप्ठेरोबाट पाठ सिक्दै आगामी दिनमा पूर्वाधारको समस्या झेल्नु नपरोस् भन्ने सोचेर काम गरिरहेको उनको भनाइ छ । उनले भने, ‘कैलालीसँगै कञ्चनपुरमा पनि एक हजार बेडको होल्डिङ सेन्टर निर्माण भइरहेको छ । कैलाली र कञ्चनपुरमा थप ५० बेडको सुविधायुक्त कोभिड अस्पताल निर्माण सम्पन्न गरिसकेका छौं ।’ अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटरलगायत मेडिकल उपकरण थप्ने कामलाई तीव्रता दिइए पनि ती उपकरण सञ्चालन गर्न जनशक्ति अभाव रहेकाले तालिम दिएर जनशक्ति व्यवस्थापन भइरहेको उनले बताए । होल्डिङ सेन्टर सञ्चालन हुन सके भारतबाट आउँदा सिधै गाउँ जान नपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

