दार्चुला। जयसिह धामी वेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानविन समितिले आफ्नो काम सुरु गरेको छ । मंगलबार दार्चुला पुगेको समितिले साझ जिल्लास्थित सुरक्षा निकाय र घट्नास्थलमा खटिएको सुरक्षाकर्मी सँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबारे छानविन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरिएको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको छ । समितिले घट्नास्थलमा खटिएका सुरक्षाकर्मी, जिल्लास्थित सुरक्षाकर्मीसँग छलफल सकेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानविन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका डिएसपी विरसिह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँड सहित ३ जनाको टोलीले स्थलगत खटिएको छ ।
यस्तै समितिले बुधरबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र जनप्रतिनिधीसँग छलफल गर्ने कार्यक्रम रहेको सहचिव गौतमले जानकारी दिए । यस्तै समितिले प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ । टोलीलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन् । नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्। यद्यपि भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरेपनि तुइन नकाटेको दाबी गरेको छ।
छानविन समितिको प्रतिवेदन अनुसार मात्रै सरकारले आवश्यक निर्णय लिने जनाएको छ । उक्त टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्यानसिंह धामी, अनिता धामी, विक्रम रंकोलीलाई खलंगा पुर्याएका छन् । प्रत्यक्षदर्शीलाई सोमबारदेखि प्रहरीको निगरानीमा राखिएको छ। उनीहरु सँग पत्रकारको भेटघाट गर्न दिइएको छैन् । जयसिह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा एसएसबीले तुइन फुकालिदिदा वेपत्ता भएको स्थानीयको भनाई छ । वेपत्ता धामीको शव अझै भेटिएको छैन् ।

