धनगढी। कैलालीका काठ व्यवसायी आन्दोलित बनेका छन् । डिभिजन वन कार्यालय कैलालीमा काठ व्यवसायीले बिरोध गरेका छन् । वन डिभिजन कार्यालय कैलालीले मिलोमतोमा काठ टेन्डर प्रक्रिया अगाडि बढाएर भ्रष्टाचार गर्न खोजेको भन्दै आईतबार काठ व्यापारीले बिरोध गरेका हुन्। उनीहरुले ‘काठ व्यावसायलाई धरापमा राख्न पाइँदैन, भ्रष्टाचारी डिएफओ चाहिँदैन’, ‘सुचना लुकाउने सुचना अधिकारी मुर्दावाद’ लगायत लेखेका पम्प्लेट कार्यालयमा टाँसेका थिए।
निषेधाज्ञाको समयमा काठ टेन्डर प्रक्रिया अगाडि बढाएको, सुचना माग गर्दा सुचना नदिएर मिलोमतोमा वन कार्यालयका कर्मचारी र केही ठेकेदार मिलेर आफू नजिककालाई टेन्डर पारेर भ्रष्टाचार गर्न लागेको काठ व्यवसायीहरुले आरोप लगाएका छन् । टेन्डरका लागि सार्वजनिक सुचना जारी नगरी निषेधाज्ञाको समय जेष्ठ १५ मा वन कार्यालयले चौकीडाँडा महिला सामुदायिक वनको काठ लिलाम प्रक्रिया लिलामका लागि सहमति दिएर १७ हजार क्यु फिट काठलाई ४ हजार क्यु फिट कम काठ देखाएर टेन्डर प्रक्रिया अगाडि बढाएको काठ व्यवसायी रोशन शाहीले जानकारी दिए।
यता वन डिभिजन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेलले चौकीडाँडा महिला सामुदायिक वनलाई लिलामका लागि सहमति मात्र दिएको र सामुदायिक वनले टेन्डर प्रक्रिया अगाडि बढाएको कुनै पनि सुचना वन कार्यालयमा नआएको भनेका छन् ।


