बैतडी। बैतडीमा एकसातादेखि अनसनरत लेन्थवर्करहरुको माग अझै पूरा भएको छैन् । उनीहरु अनसन बसको एक हप्ता बितीसकेको छ । २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै अनसनमा बसेका बैतडीका लेन्थवर्करहरुले अनसन जारी राखेका छन्। अनसन बसेको एक हप्ता भईसक्दा समेत आफ्ना माग पूरा नभएकाले आफूहरुले अनसन नछोड्ने लेन्थवर्कर जयराम भुलले जानकारी दिए। उनले भने ‘हाम्रा माग पूरा नहुँदा सम्म हामी अनसन छोड्दैनौं । हामी अनसनस्थलमै प्राणत्याग गर्न तयार छौं ।’लामो समयदेखि पाटन –पञ्चेश्वर सडकमा काम गर्दै आएपनि आफूहरुले पारिश्रमिक नपाएकाले अनसन बसेको भुलले बताए । उनले भने ‘हामी सडकमा काम गर्ने मजदुरको रोजीरोटी खोस्ने प्रयास भईरहेको छ । त्यसैले हामी अनसनमा बसेका हौं ।’
असार १८ गतेदेखि अनसनमा १२ जना लेन्थवर्कर बसीरहेका भएपनि उनीहरुका माग भने पूरा हुन सकेका छैनन् । पाटन –पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि आफूहरु समस्यामा परेको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन् । उनले भनिन् ‘अनसन बसेको यो अवधिमा म आँफै दुई पटक बेहोस भएर अस्पताल पुगिसकेकी छु । हाम्रा माग पूरा नहुँदा सम्म हामी अनसन छोड्दैनौं।’अनसन बसीरहेका बेला लेन्थवर्करहरुलाई माग पूरा गर्ने आश्वासन दिने भने कमी छैन् । प्रदेश सांसददेखि लिएर संघीय सांसदहरुले समेत माग पूरा गर्ने आश्वासन दिएको पन्तले बताइन् । उनले भनिन् ‘अब आश्वासनले मात्रै हामी मान्दैनौं । हाम्रो समस्या समाधान नहुँदा सम्म हामी अनसन छोड्दैनौं ।’ स्थानीय स्तरमा लेन्थवर्करका समस्या समाधानका लागि सहयोग समिति समेत गठन भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले पनि अनसनमा बसेका लेन्थवर्करहरुसंग वार्ता गरिसकेको छ । तर उनीहरुको समस्या समाधानका लागि खासै निकास निकाल्न नसकिएको भट्टले बताए । उनले भने ‘हामीले स्थानीय पालिकाहरुसंग पनि छलफल गरेका छौं । प्रदेश सरकारलाई अनसनमा बसेकाहरुको अवस्थाको बारेमा जानकारी गराईसकेका छौं।’यता पूर्वाधार विकास कार्यालयले भने पाटन –पञ्चेश्वर सडकमा लेन्थवर्कर नरहेको दाबी गर्दै आएको छ । अहिले सडक निर्माण कम्पनीसंग रहेकाले लेन्थवर्कर राख्न नमिल्ने कार्यालयको दाबी छ ।

