धनगढी: कैलालीको धनगढीमा महिला तथा बालबालिकालाई लक्षित गरी जुत्ता–चप्पलको नयाँ पसल ‘पाइला’ सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–४ स्थित कृषि सामग्री भवन, मेनरोडमा रहेको पसलको आइतबार कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले उद्घाटन गरेका हुन्।
पसलको उद्घाटन गर्दै अध्यक्ष ओझाले नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गरे। स्थानीय बजारमा ग्राहकको रोजाइअनुसारका सामग्री उपलब्ध गराउने व्यवसायले बजारको चहलपहल बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। ‘पाइला’मा महिला तथा बालबालिकाका लागि विभिन्न डिजाइनका जुत्ता–चप्पल, स्पोर्ट्स सुज, स्निकर्स, स्यान्डल तथा ह्यान्डब्याग उपलब्ध रहेको सञ्चालक कमला जोशीले बताइन्। जोशी र उनका श्रीमान् पुष्पराजले संयुक्त रूपमा पसल सञ्चालनमा ल्याएका हुन्।
आधुनिक फेसन, आरामदायीपन र गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिँदै ग्राहकको रुचि र आवश्यकताअनुसारका सामग्री उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको सञ्चालक जोशीले बताइन्। धनगढीको मुख्य बजार क्षेत्रमा सञ्चालनमा आएको ‘पाइला’ले महिला तथा बालबालिकाका लागि फेसनअनुसारका जुत्ता–चप्पल र अन्य सामग्री एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य राखेको छ।


