धनगढी: सुदूरपश्चिम प्रदेशमा बिहीबार रातिदेखि निरन्तर वर्षा भइरहेको छ । प्रदेशका तराईदेखि पहाडी तथा हिमाली जिल्लासम्म वर्षा भइरहेकाले जनजीवन प्रभावित हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, कार्यालय अत्तरियाका अनुसार बिहीबार रातिदेखि सामान्य वर्षा सुरु भए पनि शुक्रबार दिउँसोदेखि वर्षाको मात्रा बढ्दै गएको छ । असोज ९ देखि ११ गतेसम्म सुदूरपश्चिमका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
वर्षाको मात्रा बढ्दै गएपछि प्रदेशका नदी, खोला तथा खहरेमा पानीको बहाव बढ्न थालेको छ । विशेषगरी महाकाली, कर्णाली, मोहना लगायतका ठूला नदी तथा साना खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी तटीय तथा डुबानको जोखिममा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले समेत असोज ९ देखि ११ गतेसम्म कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा बहने साना नदीमा जलसतह बढेर आकस्मिक बाढी आउन सक्ने जोखिम औँल्याएको छ ।
वर्षाको जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशका स्थानीय प्रशासन, स्थानीय तह तथा सुरक्षा निकायले विपद् प्रतिकार्यको तयारी तीव्र पारेका छन् । जोखिमयुक्त क्षेत्रमा उद्धार टोली परिचालन गर्नेदेखि आवश्यक उपकरण तथा सामग्री तयारी अवस्थामा राखिएको छ । विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशका सबै प्रहरी युनिटलाई परिचालन गरिएको प्रहरीले जनाएको छ । बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुने अवस्था आए तत्काल उद्धार तथा राहतमा परिचालन गर्ने गरी जनशक्ति तयारी अवस्थामा राखिएको छ । कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा समेत वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको छ । बैतडी, दार्चुला, बझाङ र बाजुरालगायत पहाडी तथा हिमाली जिल्लामा पनि बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भन्दै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई तयारी अवस्थामा राखिएको छ ।
मौसम पूर्वानुमानका आधारमा सुदूरपश्चिमका दार्चुला, बाजुरा र बझाङलाई उच्च जोखिममा राखिएको यसअघिको चेतावनीमा उल्लेख थियो । यद्यपि पछिल्लो पूर्वानुमानमा जोखिमको अवस्था जिल्लाअनुसार अद्यावधिक भइरहेको छ । तराईका कैलाली र कञ्चनपुरमा भने भारी वर्षासँगै डुबान र नदी कटानको जोखिम बढी देखिएको छ । कञ्चनपुरको दोधारा चाँदनी, भीमदत्त, वेदकोट तथा डडेल्धुराको परशुराम क्षेत्रमा निरन्तर वर्षाको सम्भावना औँल्याइएको छ । भीमदत्तको वडा नम्बर १२ तथा वेदकोटका केही क्षेत्रमा पानी जम्ने र निकासमा समस्या आउन सक्ने पूर्वानुमान गरिएको छ ।
कैलालीमा कर्णाली र मोहना नदीको बहाव नियमित निगरानी गर्ने तथा नदी तटीय बस्तीलाई समयमै सूचना दिने तयारी गरिएको छ । सम्भावित बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुनसक्ने अवस्थालाई ध्यान दिँदै सडक डिभिजन, स्थानीय तह तथा सम्बन्धित निकायका डोजर, एक्साभेटर र लोडरसमेत तयारी अवस्थामा राखिएको छ । पहाडी जिल्लामा भने लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेको छ । चुरे तथा पहाडी क्षेत्रमा सडक अवरुद्ध हुने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने तथा ग्रामीण बस्तीमा आवतजावत प्रभावित हुनसक्ने भएकाले स्थानीय तहले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायलाई आवश्यक पर्दा तत्काल उद्धारमा परिचालन हुने गरी तयारी अवस्थामा राखिएको छ ।
प्रदेश सरकारका तर्फबाट पनि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायबीच समन्वय गरी विपद् प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको जनाइएको छ । प्रदेश सरकारले विपद् आएपछि राहत वितरण गर्ने मात्रै नभई जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । सम्भावित बाढी, पहिरो र डुबानबाट हुने क्षति कम गर्न स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरिएको प्रदेश सरकारको भनाइ छ ।
वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै कतिपय स्थानीय तहले विद्यालयसमेत बन्द गरेका छन् । धनगढी उपमहानगरपालिकाले असोज ९ देखि ११ गतेसम्मको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै विद्यालयलाई जोखिम विश्लेषण गरी आवश्यक निर्णय लिन आग्रह गरेको छ । गोदावरी नगरपालिकाले पनि वर्षाको जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वर्षाको समयमा नदी, खोला तथा खहरेमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले सर्वसाधारणलाई अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान आग्रह गरिएको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिमयुक्त बस्तीमा रहेका नागरिकलाई थप सावधानी अपनाउन भनिएको छ ।
यस्तै, घर वरपरका पानी निकासका नाला सफा राख्न, विद्युत्का तार तथा पोलबाट टाढा रहन, पहिरोको जोखिम भएका सडकमा अनावश्यक यात्रा नगर्न र मौसम तथा बाढीसम्बन्धी पूर्वसूचनालाई नियमित रूपमा हेर्न सम्बन्धित निकायले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा पछिल्लो १० वर्षमा भएका विभिन्न विपद्का घटनामा ५ हजार १९५ जनाको मृत्यु, ५१७ जना बेपत्ता र १५ हजार ७५१ जना घाइते भएका छन् । विपद्का कारण २ लाख २ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् भने प्रदेशमा ३२ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको तथ्यांक छ ।
विगतका विपद्का घटनालाई हेर्दा सुदूरपश्चिममा बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेको देखिन्छ । त्यसैले अहिले भइरहेको वर्षालाई सामान्य रूपमा मात्र नलिई जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा उद्धारका लागि आवश्यक जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राख्नुपर्ने अवस्था छ । मौसम पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म वर्षाको गतिविधि बढ्न सक्ने भएकाले प्रदेशका नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

