धनगढी । भदौ १० गते विहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले सम्पर्कविहीन भएका व्यक्तिका आफन्तजन उद्धारको प्रतिक्षा गर्दै छटपटिन थालेका छन् ।
टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका केही व्यक्ति सम्पर्कमा आए पनि ३६ जना अझै सम्पर्कमा छैनन् । २१६ नम्बर सुरुङमा फसेकाहरुका परिवार उद्धार भएको खबर सुन्न आँतुर छन् ।
बाढीपछि टीकापुर नगरपालिका –१ समितिपुरका वीरबहादुर चौधरी, सनिशराम थारु, मनिराम चौधरी, राजेश चौधरी, भुवन चौधरी, अन्तराम चौधरी, खुसीराम चौधरी, दीपक चौधरी सम्पर्कविहीन हुनुभएको छ ।
टीकापुर–१ कै भुपू कमैया बस्तीका बादल चौधरी, बिफु चौधरी, मानबहादुर चौधरी, शिवनारायण चौधरी, प्रजित डगौरा थारु हुनुहुन्छ । यस्तै एकतापुरका राजकुमार थारु, विपतराम चौधरी, आशिष चौधरी, आशिषकी बहिनी कमला चौधरी, विपतपुरका साधुराम चौधरी पनि सम्पर्कमा छैनन् ।
टीकापुर नगरपालिका –५ मनिकापुरका चुन्की थारु, चन्द्रबहादुर थारु, धनुवा थारु, ठगराम चौधरी, कमलबहादुर चौधरी पनि सम्पर्कविहीन छन् । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार टीकापुरका श्रमिकहरु जलविद्युत आयोजनाको सुरुङ नम्बर २१६ मा कार्यरत हुनुहुन्थ्यो ।
यस्तै रसुवा भन्सार कार्यालयमा कार्यरत टीकापुर नगरपालिका –१ ब्लक नं १३ का सन्तोष न्यौपाने, बैंकमा कार्यरत ब्लक १४ का सुभाष रावल र नुवाकोटको विदूरमा कार्यरत टीकापुर–७ डाँडाबोझीका अर्जुनकुमार डगौरा थारु, टिमेरे पार्किङमा काम गर्ने ज्योतीनगरका सन्दीप सन्ज्याल, मनकला सन्ज्याल, सुस्मिता जोशी, वडा नम्बर २ का करिश्मा शाही पनि सम्पर्कविहीन हुनुभएको छ ।
वडा कार्यालयहरुले सम्पर्कविहीन व्यक्तिहरुको परिवारबाट सूचना लिइ प्रशासनलाई उपलब्ध गराएको र उद्धार भएको खबरको प्रतिक्षामा बसेका टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताउनुभयो ।
आफन्त बेखबर भएका परिवारका सदस्यहरुलाई भने छटपटि भइरहेको छ । सम्पर्कविहीन समितिपुरका राजेश चौधरीको श्रीमती पुष्पा चौधरी मुर्छित् भएको फुलकुमारी चौधरीले बताउनुभयो । फुलकुमारी भन्नुुहुन्छ, ‘भाइ दीपक चौधरी पनि बेखबर छ, काकी ९पुष्पा० को अवस्था सम्हाल्न नसकिने हुँदैछ । हाम्रा मानिसहरु फेला परेको खबर सुन्न आँतुर छौं ।’
टीकापुरका युवाहरुलाई काममा लैजाने समितिपुरकै ठेकेदार तुलाराम चौधरी र भान्से दलबहादुर चौधरी भने सम्पर्कमा आएका छन् । बाढी आउनेबेला कोठामै रहेका दुवैजना भागेर अग्लो स्थानमा जाँदा सुरक्षित भएका हुन । ‘बाढी आएको बेला सुरुङमा कैलाली र डोटीका ४२ जना र चारजना चिनियाँ कर्मचारी काममा थिए’ ठेकेदार तुलाराम भन्नुहुन्छ, ‘करिब २०० मिटर गहिरो सुरुङ छ । भित्र पसिसकेका भए भित्रै थुनिएको हुनुपर्छ, कोही डण्डी काटने काममा बाहिर भए बगे होलान ।’
जानकी गाउँपालिकाले सहयोग गर्ने
जानकी गाउँपालिकाबाट चार जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा जानकी गाउँपालिका–१ धर्मापुरका श्याम चौधरी, वडा नं ४ बेलपुरका चक्रबहादुर चौधरी, राजकपुर चौधरी, वडा नं ६ जगतपुरका प्रविण चौधरी हुनुहुन्छ । सँगै रहेका वडा नं १ तोरैयाँपुरका दिलिप चौधरीको उद्धार गरिएको र वडा नं ६ जगतपुरका आशिष चौधरी सम्पर्कमा आइसक्नुभएको छ ।
गाउँपालिकले आफन्त सम्पर्कविहीन भएपछि चिन्तामा रहनुभएका परिवारलाई मनोपरामर्श सेवा सुरु गरेको छ भने आफन्त खोज्न जानेलाई यातायात खर्च उपलब्ध गराउने भएको छ । ‘सम्पर्कविहीन भएकाहरुको परिवारलाई घरभेट गरी मनोपरामर्शका लागि मनोसामाजिक परामर्शकर्तालाई परिचालन गरिएको छ’ जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले भन्नुभयो, ‘सम्पर्कविहीन भएकाहरुको खोजी कार्यका लागि जाने आफन्त र परिवारलाई यातायात खर्चको व्यवस्थापन गर्ने तयारी छ ।’
कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य कोमल ज्ञवालीले रसुवाबाट उद्धार गरी काठमाडौं ल्याएका कैलाली, कञ्चनप्र, बर्दियाका य्ुवाहरुलाई उनीहरुको निर्माण कम्पनीसँग सम्पर्क गरी घर फर्काउने तयारी भइरहेको जानकारी दिनुभयो ।
जिल्लाका ८० भन्न्दा बढी अझै सम्पर्कविहीन
जिल्ला प्रशासन कार्यालय कैलालीले शनिबार बेलुका जारी गरेको सूचनाअन्सार कैलाली जिल्लाबाट ८० जनाभन्दा बढी सम्पर्कविहीन छन् । सूचना अनुसार धनगढी उपमहानगरपालिका –१२ ए गाउँका शिवशंकर जोशी, वडा नम्बर २ का विकास ठकुरी, वडा नम्बर ५ हसनपुरका पुष्पा शाही, वडा नम्बर ३ का खरेन्द्र जोशी गरी चार जना रहेका छन् ।
गौरीगंगा नगरपालिका–४ का गोविन्द तामाङ, विष्णु साउद, नरेन्द्र साउद, रोहन ओली, प्रदीप बोहरा, विक्रम ढकाल, अभिशेर सुनार, रमेश साउद, गोविन्द ओली, सुनिल बुढा मगर, सञ्जय शाही, संगम मगर, सोमबहादुर साहु, मानबहादुर शाही, अनिल चौधरी, सुनिल चौधरी, दिलीप चौधरी गरी १७ जना रहेका छन् ।
यस्तै जोशीपुर गाउँपालिका– २ मुद्दीका शैलेश चौधरी, राजकुमार कठरिया, नरेश डगौरा, राजेश डगौरा, फत्ते कठरिया, राकेश थारु, रामप्रसाद कठरिया, बुधराम कठरिया, पदमराज बिनाडी, चुरे गाउँपालिकाका–३ का पदमबहादुर धामी, जनकबहादुर धामी, आनन्द धामी, गोमादेवी धामी, डम्मरा धामी छन् ।
त्यस्तै, कैलारी गाउँपालिका–३ का विश्वराज चौधरी, वडा नम्बर ६ का रोयल चौधरी, विश्व चौधरी, घोडाघोडी नगरपालिका ६ का तपेन्द्र कुँवर, बर्दगोरिया गाउँपालिका–५ का भुवन वाग्ले, वडा नम्बर ६ का विजय चौधरी सम्पर्कविहीन हुनुहुन्छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सम्पर्कमा आइसकेका व्यक्ति र परिवारले जानकारी दिन र राहत सहयोग दिन चाहेमा जिल्ला प्रशासन कार्यालय वा स्थानीय पालिकाको कार्यलय वा नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा सम्पर्क राख्न अनुरोध गर्नुभएको छ ।

