काठमाडौं, ९ भदौ । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन महरले दिएको अभिव्यक्ति तथ्यहीन भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आपत्ति जनाएको छ । संगठनले सांसद महरसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ ।
भदौ ७ गते अपराह्न अत्तरियामा महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ९५६ नम्बरको महाकाली यातायातको बसको पछाडिको पाङ्ग्रामा परेर बझाङ मस्टा घर भई अत्तरियामा बस्दै आएकी ५३ वर्षीया सिन्की बोहराको मृत्यु भएको थियो ।
सांसद महरले भदौ ८ गते प्रतिनिधिसभाको बैठकमा बसले महिलालाई ठक्कर दिएपछि अगाडि बढेको र पुनः पछाडि फर्किएर घाइते महिलालाई किचेको आशयको अभिव्यक्ति दिएको संगठनको भनाइ छ ।
तर, इलाका प्रहरी कार्यालय मालाखेतीमा सुरक्षित सीसीटीभी फुटेज तथा प्रारम्भिक तथ्यले उक्त अभिव्यक्तिसँग मेल नखाने संगठनले दाबी गरेको छ । संगठनका अनुसार सीसीटीभी फुटेजमा बस विस्तारै अगाडि बढिरहेको अवस्थामा पानी बिक्री गर्ने महिला यात्रुसँग कारोबार गर्ने क्रममा लडेको र बसको पछाडिको पाङ्ग्रामा परेर उनको मृत्यु भएको देखिन्छ ।
संगठनले सीसीटीभी फुटेज, प्रहरी अनुसन्धान, प्रत्यक्षदर्शीको बयानलगायत प्रमाणका आधारमा घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । संसदमा उठाइने विषय तथ्यपरक र प्रमाणमा आधारित हुनुपर्ने भन्दै संगठनले प्रमाणबिना चालकलाई दोषीका रूपमा प्रस्तुत गर्नु उचित नभएको जनाएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले माग सम्बोधन नभए देशभरका यातायात श्रमिक लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।
संगठनले मृतक बोहराको परिवारलाई प्रचलित कानुनअनुसार क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्नुपर्ने, घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने र निर्दोष चालकलाई अन्याय हुन नदिनुपर्ने माग गरेको छ ।
संगठनले अत्तरिया घटनाका सम्बन्धमा तीन मुख्य माग अघि सारेको छ । पहिलो, सीसीटीभी फुटेज, प्रहरी अनुसन्धान र प्रत्यक्षदर्शीको बयानलगायत प्रमाणका आधारमा घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, दोस्रो, सांसद महरले दिएको अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने र तेस्रो, मृतक बोहराको परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्नुपर्ने माग संगठनको छ ।
संगठनले सडक दुर्घटनालाई भवितव्यका रूपमा मात्र नहेरी सडक सुरक्षा, चालकको कार्यपरिस्थिति र दुर्घटना न्यूनीकरणका लागि सरकार, व्यवसायी, श्रमिक तथा यात्रु सबै पक्ष जिम्मेवार हुनुपर्ने जनाएको छ ।?

