धनगढी: धनगढी उपमहानगरपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी कित्तागत विवरणमा संशोधन आवश्यक भएका जग्गाधनीलाई भदौ ३ गतेसम्म निवेदन दिन आग्रह गरेको छ। उपमहानगरपालिकाको भूमि शाखाले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित जग्गाधनी वा आधिकारिक प्रतिनिधिले संशोधनको आधार, कारण र आवश्यक प्रमाण कागजातसहित कार्यालय समयभित्र भूमि शाखामा निवेदन पेश गर्नुपर्ने जनाएको छ।
स्थानीय भू–उपयोग परिषद्को निर्णयअनुसार यसअघि सार्वजनिक गरिएको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी विवरणमा वडा कार्यालय, कित्ता कटानलगायत प्राविधिक कार्य तथा सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै संशोधनको अवसर दिइएको हो। सम्बन्धित जग्गाको विवरण यसअघि प्रकाशित सूचनामा रहेको क्यूआर कोडमार्फत समेत हेर्न सकिने उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्न सबै सम्बन्धित जग्गाधनीलाई आग्रह गरेको छ।


