बाजुराः अविरल वर्षाका कारण पहिरो खस्दा बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ। साँफे–मार्तडी सडकअन्तर्गत पर्ने सेलाघाट, राप्का, वीरे खोला र कारागारमुनिको सडक क्षेत्रमा परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरोका कारण जडाङ्गा, राप्कालगायतका केही स्थानका घरसमेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताए।
उनका अनुसार बिहान करिब ५–६ बजेतिर परेको अविरल वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएपछि मार्तडी जाने सबै सवारीसाधन तिपाडामा रोकिएका छन्। “अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ। पहिरो हटाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको छ,” उनले भने। प्रहरीका अनुसार पहिरो पन्छाउने कामका लागि आवश्यक समन्वय भइरहेको छ।

