धनगढी: कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते छन् । महाराजगंज नगरपालिका– २ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । शिवपुरी लक्जरी कोच प्रा.लिद्वारा सञ्चालित उक्त बस आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा परेर घाइते हुनेहरूमा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका– १३ गेटा बस्ने ४२ वर्षीय हरिसिंह महरा सँगै बैतडीको सिगास गाउँपालिका– ६ खालाकाँडाका २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीको दिपायल सिलगढी नगरपालिका– ५ दतेडया बस्ने ३० वर्षीय भरत मल्ल, कैलालीको गोदावरी नगरपालिका– १ बस्ने २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका– २ बस्ने ५५ वर्षीया सीतादेवी बादी, डडेलधुराका २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, बझाङका थलारा गाउँपालिका– ५ बस्ने २३ वर्षीय विनोद सत्कुली, बैतडीको पुरचौडी नगरपालिका– ८ मल्लादोही बस्ने १५ वर्षीय लोचन विष्ट, उनका बुबा ४५ वर्षीय कृष्णबहादुर विष्ट रहेका छन् ।
यस्तैगरी, कैलालीको धनगढी उपमहानगरपालिका– १८ फूलबारी बस्ने ७७ वर्षीय गणपति भागरी, घोडाघोडी नगरपालिका– ६ जवलपुर बस्ने २४ वर्षीय अखिलकुमार ठडिया, चितवनको भरतपुर महानगरपालिका २६ बस्ने ६५ वर्षीय भद्रकृष्ण मिश्र, कैलालीको धनगढी उपमहानगरपालिका– १८ बस्ने २४ वर्षीय गोपाल पौडेल, डडेलधुरा गाउँपालिका– १ बस्ने ४० वर्षीय केशबहादुर देउवा, दार्चुलाको नौगाड गाउँपालिका– ४ सिवाटी बस्ने ३३ वर्षीय प्रभानन्द ठकुन्ना, कैलालीको धनगढी उपमहानगरपालिका– १८ बस्ने २२ वर्षीया दीपिका भण्डारी, घोडाघोडी नगरपालिका– ९ बस्ने ३६ वर्षीय प्रकाश रोकाया, बझाङको थलारा गाउँपालिका– ५ बस्ने २३ वर्षीय किश्वर बोहोरा र डडेलधुरा गन्यापधुरा गाउँपालिका– ३ बस्ने ४० वर्षीया पार्वती बोहोरा घाइते भएका छन् ।
घाइतेहरूमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । बसमा चालकसहित ४६ जना सवार रहेकोमा २४ जना यात्रुलाई अर्को बसमार्फत गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनाग्रस्त बसलाई हटाएर सडक दुवैतर्फ सञ्चालनमा आइसकेको छ भने बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

