धनगढी: “श्रवण–दृष्टिविहीनता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस–२०२६” को अवसरमा कैलालीको धनगढीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। बहिरा संघ कैलालीको आयोजनामा शनिबार साँझ धनगढीको पार्कमोडमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा श्रवण–दृष्टिविहीन (Deafblind) व्यक्तिहरूको पहिचान, उनीहरूको अधिकारको संरक्षण तथा समाजमा समान सहभागिताबारे जनचेतना फैलाउने उद्देश्यले दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूले श्रवण–दृष्टिविहीन व्यक्तिहरू पनि समाजका समान अधिकार प्राप्त नागरिक भएकाले उनीहरूलाई शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारी तथा सम्मानजनक जीवनको अधिकार सुनिश्चित गर्न राज्य र समाज दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐर, वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाही, बहिरा संघ कैलालीका पदाधिकारी, श्रवण–दृष्टिविहीन व्यक्तिहरू, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
वडा अध्यक्ष गजेन्द्र शाहीले श्रवण–दृष्टिविहीन व्यक्तिहरूलाई राज्यको मूल प्रवाहमा समेट्न स्थानीय तहले आवश्यक पहल गरिरहेको बताउँदै उनीहरूको पहिचान, क्षमता विकास तथा सेवामा पहुँच विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण र सम्मानजनक जीवन सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
त्यस्तै वडा अध्यक्ष गजेन्द्र शाहीले श्रवण–दृष्टिविहीन व्यक्तिहरूले दैनिक जीवनमा भोग्दै आएका चुनौतीहरूलाई कम गर्न स्थानीय सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य सेवा, सञ्चारमा पहुँच र रोजगारीका अवसर विस्तार गर्न आवश्यक समन्वय गरिने बताए।
कार्यक्रममा वक्ताहरूले धनगढी उपमहानगरपालिकाबाट श्रवण–दृष्टिविहीन व्यक्तिहरूको तथ्यांक संकलन र पहिचान, सीप विकास तालिम सञ्चालन, स्वास्थ्य सेवा तथा सहायक सामग्री उपलब्ध गराउने, सार्वजनिक सेवा र पूर्वाधारलाई थप पहुँचयोग्य बनाउने लगायतका विषयमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
दीप प्रज्वलनमार्फत श्रवण–दृष्टिविहीन व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूको अधिकार, पहिचान र समावेशी समाज निर्माणका लागि सबै नागरिक, सरोकारवाला निकाय तथा सरकार एकजुट हुनुपर्ने सन्देश दिइएको आयोजकले जनाएको छ।

