धनगढी । कैलालीका १३ वटै पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को नयाँ नेतृत्व चयन गरिएको छ । पालिकास्तरीय प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । केहीबाहेक प्रायः सबै पालिकामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन भएको जनाइएको छ ।
रास्वपाका नेताले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको सभापतिमा तुलाराम खनाल, टीकापुर नगरपालिकाको सभापतिमा गोविन्द विष्ट, जानकी गाउँपालिकाको सभापतिमा कलावती चौधरी चयन हुनुभएको छ ।
यस्तै जोशीपुर गाउँपालिकामा विनोद चौधरी, लम्कीचुहा नगरपालिकामा नामकर खनाल, मोहन्याल गाउँपालिकामा महेश विष्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । बर्दगोरिया गाउँपालिकामा केशव भण्डारी, घोडाघोडी नगरपालिकामा नारायण भण्डारी, गौरीगङ्गा नगरपालिकामा सागर सिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । यसै गरी कैलारी गाउँपालिकामा रेबन्त बोहोरा, भजनी नगरपालिकामा भरत साउद, गोदावरी नगरपालिकामा आशिष धामीको नेतृत्वमा रास्वपाको नयाँ कार्यसमिति गठन गरिएको छ ।
सबै पालिकामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन भएको रास्वपाको सार्वजनिक मामिला विभागका केन्द्रीय सदस्य हरि रेग्मीले जानकारी दिनुभयो । यद्यपि कैलारी गाउँपालिकामा भने सभापतिका लागि रेबन्त बोहोरा र जितबहादुर चौधरीबिच प्रतिस्पर्धा भएको थियो । दुवै जनाले बराबर २३र२३ मत प्राप्त गरेपछि गोला प्रथाबाट बोहोरा कैलारीको सभापति चयन हुनुभएको थियो । १३ वटै पालिकामा नयाँ कार्यसमिति चयन गरिसकेको रास्वपा कैलालीको आइतबारदेखि जिल्ला सम्मेलन सुरु भएको छ ।


