धनगढी: नवजीवन सहकारी संस्था लिमिटेडको निर्वाचनका लागि केशव राज मिश्र नेतृत्वको समूहले प्यानल घोषणा गर्दै आफ्नो १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमार्फत समूहले आफ्ना योजनासहित प्रतिबद्धता सार्वजनिक गरेको हो । सञ्चालक समितिको अध्यक्ष पदका उम्मेदवार मिश्रले नवीन र नमुना सहकारी बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको जानकारी दिए ।
उनले पछिल्लो समय सहकारी क्षेत्रमा विभिन्न समस्या देखिएको उल्लेख गर्दै नवजीवन सहकारीमा त्यस्ता समस्या हुन नदिन योग्य र सक्षम नेतृत्व आवश्यक रहेको बताए । ‘नवजीवन सहकारीलाई नमूना योग्य संस्थाका रूपमा विकास गर्न हामी प्रयासरत हुनेछौँ,’ उनले भने । देशकै उत्कृष्ट सहकारी संस्थामध्ये नवजीवन सहकारी रहेको दाबी गर्दै मिश्रले सक्षम नेतृत्वका लागि आफू र आफ्नो टिमलाई मतदान गर्न सदस्यहरूसँग अपिल पनि गरे ।
२३औँ चुनावी वार्षिक साधारणसभालाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार मिश्रले १६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् । प्रतिबद्धतामा सहकारीमा शिक्षा र सचेतना अभिवृद्धि गर्ने, खराब कर्जालाई समिति गठन गरी फर्स्योट गर्ने तथा सहकारीबाट हुने सम्पत्ति खरिदका विषयमा समीक्षा गर्ने उल्लेख गरिएको छ । त्यस्तै, ‘एक घर, एक सदस्य’ व्यवस्था लागू गर्ने, निर्वाचन लक्षित सदस्यभन्दा सक्रिय सदस्यलाई प्राथमिकता दिने उद्देश्य रहेको पनि उनले बताए ।
कर्मचारी भर्ना तथा तहवृद्धिलाई पारदर्शी बनाउने, सेवाग्राहीसँग नम्र व्यवहार गर्ने, शेयर सदस्यलाई उत्पादनसँग जोडेर नमूना नवजीवन बनाउने योजना पनि समूहले अघि सारेको छ । यसैगरी, सहकारी सहजकर्तासहितको हेल्प डेस्क सबै कार्यालयमा स्थापना गर्ने, उपचार खर्च वृद्धि गर्ने तथा मल र बीउको समस्या समाधान गर्ने प्रतिबद्धता पनि समूहले जनाएको छ ।


