कञ्चनपुर — कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का हरिकिसन रानाको मृत्यु घटनाको छानबिन माग गर्दै महेन्द्रनगरमा प्रदर्शन भएको छ । एक वर्षअघि राना बेलौरी नगरपालिका–१० शिवनगरमा मृत भेटिएका थिए । उक्त घटनाको अहिलेसम्म कारण समेत खुल्न सकेको छैन । घटनाको छानबिन माग गर्दै रानाथारु समाज, आदिवासी जनजाति महासंघलगायत विभिन्न संस्थाले शनिबार संयुक्त प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको र्याली महेन्द्रनगर बजार परिक्रमा गरी मदन चोकमा पुगेर कोणसभा गरेको थियो । ‘रानाथारु सोझा जाति भएकै कारण एक वर्षसम्म न्याय नपाउने अवस्था आयो, हामीले न्याय कहिले पाउने र कसले दिने रु’ रानाथारु समाजका केन्द्रीय अध्यक्ष कमलसिंह रानाले भने, ‘अहिलेसम्म हामी आशामै थियौं, तर प्रहरी प्रशासनले हाम्रो मौनतालाई कमजोरी ठान्यो, सत्यतथ्य बाहिर नआए कडा आन्दोलन गर्ने छौं ।’ उनले विगतमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत घटनाको अनुसन्धान गरे पनि निष्कर्ष सार्वजनिक गरिनुपर्ने माग गरे ।
प्रतिनिधिसभा सदस्य समेत रहेको रानाथारु समाजका पूर्वअध्यक्ष कृपाराम रानाले न्यायको माग गर्दै सडकमा उत्रिनुपर्ने बाध्यता दुस्खद भएको बताए । ‘हरिकिसन रानाको मृत्यु कसरी भयो रु अहिलेसम्म प्रहरीले भन्न सकेको छैन,’ उनले भने, ‘यसको सत्यतथ्य छानबिन गर्नुपर्छ, अब पनि ढिलाई गर्नु हुँदैन ।’
२०८२ वैशाख ९ मा राना बेलौरीको शिवनगरमा बाटो छेउमा आधा जलेको अवस्थामा मृत भेटिएका थिए । सोही बेलादेखि आफन्तजनले छानबिन गरेर दोषीमाथि कारवाही माग गर्दै आएका थिए । राना मृत्युको घटना हत्या, आत्महत्या वा दुर्घटना के हो रु भन्ने विषयमा अहिले पनि प्रहरी अन्यौलमै छ । अहिलेसम्म ठोस प्रमाण नभेटिएकाले केही भन्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताए । ‘अहिलेसम्म कुनै क्लु भेटिएको छैन, हामीले अनुसन्धानमै छौं,’ एसपी खत्रीले भने, ‘शंकास्पद व्यक्तिलाई सोधपुछ गर्नेदेखि विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’
जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका क्रममा बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।


