धनगढी — कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका–२ स्थित क्याम्प चेकपोष्ट नजिकबाट १ ग्राम ६ मिलिग्राम लागूऔषधसहित तीन जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ गोबरिया बस्ने २९ वर्षीय अमित चौधरी, भीमदत्त नगरपालिका–१८ सालघारी बस्ने २७ वर्षीय शेखर चौधरी तथा शुक्लाफाँटा नगरपालिका–७ झण्डभोज बस्ने २४ वर्षीय सुशिल डगौरा रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा लागूऔषध फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी, बेदकोट नगरपालिका–१ चम्पापुरबाट ५ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक १८ वर्षीय किशोर पक्राउ परेका छन् । अस्थायी प्रहरी बिट चम्पापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो ।
प्रहरीका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा बेदकोट नगरपालिका–१ कै २४ वर्षीय निरज शाह फरार भएका छन् । प्रहरीलाई देख्नासाथ उनी भागेका र हाल उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।


